मंगलबार, वैशाख १६, २०८२

ओमिक्रोन भेरियन्ट : के तेस्रो लहरको संकेत हो ?

नेपालखोज २०७८ मंसिर २९ गते १९:२५

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा समेत प्रवेश पाइसकेको छ । कोरोनाको यो भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा तीन गुणा बढी संक्रामक भएको बताइँदै छ ।

विज्ञहरुका अनुसार ओमिक्रोनमा कोरोना भाइरसको सबैभन्दा बढी म्युटेट भर्जन देखापरिरहेको छ । यही कारणले वैज्ञानिकहरु यो नयाँ भेरियन्टलाई लिएर चिन्तित छन् । कोरोनाको यो नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा देखापरिसकेको सन्दर्भमा यसका लक्षण तथा यो नयाँ जोखिमबाट जोगिने उपायबारे जानकारी राख्नुका साथै तिनको कडाइका साथ पालना गर्नु अनिवार्य भएको छ ।

ओमिक्रोन भेरियन्टका लक्षण : ओमिक्रोनलाई कोरोना भाइरसको अरु भेरियन्टको तुलनामा सबैभन्दा बढी संक्रामक भनिएको छ । प्रारम्भिक सूचनाअनुसार ओमिक्रोनबाट संक्रमित व्यक्तिमा अधिक थकान, गला खसखसाउने, मांशपेशीमा पीडा हुनेजस्ता समस्या देखा पर्छन् । यो भेरियन्टका लक्षण डेल्टा भेरियन्टभन्दा अलग खालका छन् । ओमिक्रोनबाट संक्रमित व्यक्तिमा स्वाद र गन्ध हराउनेजस्ता परिवर्तन देखिँदैन । ओमिक्रोन भेरियन्ट पत्ता लगाउने दक्षिण अफ्रिकी चिकित्सकका अनुसार यसमा हालसम्म हल्का लक्षण मात्र देखिएको छ । यो भेरियन्टबाट हालै मात्र बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

के भन्दै छ विश्व स्वास्थ्य संगठन ?
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ अथवा चिन्ता गर्नुपर्ने भेरियन्टको श्रेणीमा राखेको छ । ओमिक्रोन भेरियन्टका सन्दर्भमा धेरै कुरा स्पष्ट भइसकेको छैन । बिस्तारै-बिस्तारै यसबारे थप जानकारी आउँदै जानेछ । यद्यपि एउटा कुरा के स्पष्ट भइसकेको छ व्यक्तिको इम्युन सिस्टमले यो भेरियन्टलाई जिते पनि यसलाई फैलनबाट भने रोक्न सक्दैन । यो म्युटेसनका आधारमा अहिले के भनिँदै छ भने ओमिक्रोन भेरियन्टले जिउ-ज्यानको ठूलो क्षति नगरे पनि यसबाट संक्रमितको संख्यामा भने ठूलो बढोत्तरी देखा पर्न सक्छ जुन आजसम्म देखिएको थिएन । प्रारम्भिक रिपोर्टहरुअनुसार यो भेरियन्टले एकपटक कोभिड संक्रमित भइसकेको व्यक्तिलाई पुन: संक्रमण गर्नसक्ने सम्भावना पनि बढी छ ।

ओमिक्रोन भेरियन्टबाट जोगिन के गर्ने ?
-ओमिक्रोन भेरियन्टबाट जोगिन अनिवार्य रुपमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाउनुका साथै बुस्टर डोज पनि लगाउनु उपयुक्त हुन्छ ।
-सामाजिक दुरीको कडाइका साथ पालना गर्नुका साथै नियमित अन्तरालमा स्यानिटाइजर प्रयोग गर्न अल्छी वा लापरबाही नगरौं ।
-सार्वजनिक स्थानहरुमा अनिवार्य रुपमा सही ढंगले मास्क प्रयोग गरौं । अत्यावश्यक कामबाहेक निरुद्देश्य यात्रा नगरौं ।
-हात धुने कुरालाई जीवनको अत्यावश्यक वा अनिवार्य भाग बनाऔं ।
-यदि ओमिक्रोन भेरियन्टको कुनै लक्षण देखिए कोभिड नियमहरुको पालना गर्दै डाक्टरसँग सम्पर्क गरौं ।
-यसका अतिरिक्त घर-अफिसमा पर्याप्त भेन्टिलेसन होस् भन्ने कुरामा ध्यान पुर्याउँ ।
-कोरोना भाइरस सर्ने चेन तोड्न संक्रमित व्यक्तिको पहिचान महत्त्वपूर्ण हुन्छ भने उसले आफूमा भएको संक्रमण अरुमा सर्न नदिन त्यतिकै सजगता अपनाउनुपर्छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले बालबालिकालाई पनि संक्रमित गर्ने भनेर अहिले सबैको चिन्ता बढाएको छ । विश्व स्वास्थ्य संगठनका इमरजेन्सिज डायरेक्टर, माइकल रयानले एक अन्तर्वार्तामा भनेका छन्- अहिलेसम्म यस्तो कुनै संकेत पाइएको छैन जसका आधारमा ओमिक्रोन भेरियन्टलाई अत्यधिक संक्रामक तथा पहिलेको डेल्टाजस्ता केही भेरियन्टभन्दा बढी खतरनाक र प्राणघातक मान्न सकियोस् । रयान भन्छन्- हामीसँग उच्च क्षमताको भ्याक्सिन छ, जसले अहिलेसम्म कोरोनाका विभिन्न स्वरूपविरुद्ध राम्रो काम गरेको छ । यी भ्याक्सिनले ओमिक्रोनमा काम नगर्ने कुनै कारण वा आधार छैन । यद्यपि, उनको भनाइ के पनि छ भने ओमिक्रोनका सम्बन्धमा थप अध्ययन-अनुसन्धानको आवश्यकता छ ताकि यसको गाम्भीर्य र अरु साना-ठूला कुरा बुझ्न सकियोस् ।

उता अमेरिकाका संक्रामक रोग विशेषज्ञ एन्थोनी फोसी भन्छन्- ओमिक्रोन पहिलेका डेल्टा वा अरु भेरियन्ट जस्तो आक्रामक छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सीय सल्लाहकार पनि रहेका उनले ओमिक्रोन उच्च संक्रामण भए पनि यो डेल्टा भेरियन्टभन्दा कम खतरनाक हुनसक्ने कुरा बताएका छन् । यसको अनुमान साउथ अफ्रिकामा संक्रमित र अस्पताल भर्ना भएका मानिसहरुको संख्या तथा अवस्थाबाट पनि लगाउन सकिने उनको तर्क छ ।

एक नयाँ शोधअनुसार ओमिक्रोनको संक्रमण सामान्य रुघाखोकी जस्तो लाग्छ त्यसैले यसलाई चिन्न मुस्किल छ । यसको संक्रमणको लक्षण अरु भेरियन्टभन्दा अलग छ र ती लक्षण त्यति गम्भीर पनि छैनन् । यही कारणले पनि संक्रमित व्यक्तिलाई आफू कोरोना संक्रमित भएको थाहा हुन ढिलो हुनसक्छ ।

ओमिक्रोन सार्स-कोभ-२ को नयाँ भेरियन्ट हो जसलाई बि.१.१.५२९ कोड वा नाम पनि दिइएको छ । चाँडै संसारका आधाजसो देशमा पुगिसकेको यो भेरियन्टले कोरोनाको तेस्रो लहर ल्याउँछ कि ल्याउँदैन भन्ने कुराको निर्क्योल गर्न अहिले हतार हुनेछ भने यसको गाम्भीर्य र क्षतिको अनुमान पनि गर्न गाह्रो छ । अहिलेलाई उच्च सतर्कता र नियमहरुको पालना नै यसको रोकथामको उपाय हो ।

प्रतिक्रिया