शुक्रबार, असार २०, २०८२

नेता रावल भन्छन्- कसैलाई बोल्न नदिएर एमसीसीपास गर्ने खेलमा एमाले

नेपालखोज २०७८ पुष १ गते १३:०५

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गर्ने खेलमा आफ्नै पार्टी लागेको आरोप लगाएका छन् । उनले सामाजिक सन्जालमार्फत आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका हुन् । एमसीसी सम्झौता अनुमोदन गर्ने खेल अन्रुप एमालेले संसद अवरोध गर्दै आएको रावलको भनाइ छ ।

‘सरकारलाई कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’– रावलले सामाजिक सन्जालमा लेखेका छन् ।

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा अवरोध गर्दै आएको छ । एमालेले विरोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकारबाहीमा भाग लिएको थिएन ।

गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया