पाकिस्तानमा फेला पर्याे २३०० वर्ष पुरानो बौद्ध मन्दिर !

काठमाडाैं । पाकिस्तानमा बौद्धकालको एउटा निकै पुरानो मन्दिर फेला परेको छ । यो मन्दिर करिब २३ सय वर्ष पहिलेको भएको बताइएको छ । पाकिस्तानका सरकारी अधिकारीहरुका अनुसार पाकिस्तान तथा इटालीका पुरातत्वविद्हरुको एक संयुक्त उत्खनन टिमले यो मन्दिर पत्ता लगाएको हो ।
उत्तर पश्चिमी पाकिस्तानमा बौद्ध कालको यो मन्दिरका साथ अन्य केहि महत्त्वपूर्ण कलाकृति पनि फेला परेका छन् । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा पर्ने स्वात जिल्लाको बारिकोट तहसीलमा फेला परेको यो मन्दिर पाकिस्तानमा फेला परेको सबैभन्दा पुरानो मन्दिर भएको बताइन्छ ।
ऐतिहासिक स्थलमा भएको उक्त उत्खननमा पुरातत्वविदहरुले बौद्ध कालका २७०० भन्दा बढि कलाकृतिसमेत फेला परेका छन् जसमा सिक्का, चुल्हो, भाँडाकुँडाका साथै ग्रीसका राजा मेनेन्डर कालको खरोष्ठी भाषाको लेखन सामग्री समावेश छ । यो मन्दिर स्वातमा फेलापरेको तक्षशिलाको मन्दिरभन्दा पनि पुरानो भएको बताइएको छ ।
पाकिस्तान चलिरहेको यो उत्खननको इटालियन मिशन प्रमुख डा. लुका मारिया ओलिवरी भन्छन्, बौद्ध कालको मन्दिरको यो खोजले के सावित गरेको छ भने स्वात तक्षशिलाको तुलनामा अझ पुरानो पुरातात्विक अवशेषहरु भएको इलाका हो ।
हाल त्यहाँ स्वात जिल्लाको ऐतिहासिक बजिरा शहरमा यो उत्खनन चलिरहेको छ । इटालियन विश्वविद्यालयका पीएचडी छात्र-छात्रा तथा खैबर पख्तूनख्वा पुरातत्व विभाग बजिरा शहरको यो खोजमा जुटेका छन् । उनीहरुको खोजले पाकिस्तानको स्वात क्षेत्र छ-सातवटा धर्मको पवित्र स्थल भएको संकेतसमेत गरेको छ ।
प्रतिक्रिया