हिंसाको दलदलमा संसारभरका महिला !

काठमाडौं । विश्व स्वास्थ्य संगठन तथा उसका साझेदारहरुले गरेको २०२१ को एउटा नयाँ शोध प्रतिवेदनअनुसार विश्वका तीनमध्ये एक महिलाले आफ्नो जीवनमा एक न एकपटक शारीरिक वा यौन हिंसाको अनुभव गरेका छन् । डब्ल्यूएचओका अनुसार यो शोध-अनुसन्धान महिलाहरुविरुद्ध हुने हिंसामा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन हो ।
यो शोध प्रतिवेदनमा जनाइएअनुसार महिला हिंसाको सुरुवात कम उमेरमै सुरु भइसकेको हुन्छ । १५ देखि २४ वर्ष उमेर समूहका हरेक चारमध्ये एक महिलाले आफ्नै अन्तरंग साथीबाट हिंसाको अनुभव गरेको पाइन्छ ।
हरेक देश र प्रत्येक संस्कृतिमा हिंसा
डब्ल्यूएचओका महानिर्देशक तेद्रोस अधनोम गेब्रयेसुसका अनुसार महिलाविरुद्धको हिंसा हरेक देश अनि प्रत्येक संस्कृतिमा विद्यमान छ जसले लाखौं महिला तथा उनीहरुको परिवारलाई प्रत्यक्ष हानि पुर्याइरहेको छ । कोभिड-१९ को महामारीमा यस्तो हिंसा अझ बढेको बताइएको छ ।
१५-४९ आयु वर्गका करिब ३१ प्रतिशत अर्थात् ८५ करोडभन्दा बढी महिलाले शारीरिक वा यौन हिंसाको अनुभव गरेको पाइयो । यो अध्ययनका लागि २००० देखि २०१८ सम्मको तथ्यांक प्रयोग गरिएको थियो ।
पति वा साथी नै अपराधी
साथी वा पतिद्वारा हुने हिंसा निकै सामान्य भएर गएका छन् । यस्तो हिंसा गरिब देशका महिलाहरुमा सबैभन्दा बढी पाइएको छ । यौन अपराधसँग जोडिने कतिपय घटनाको रिपोर्ट नगरिने हुँदा यसको सही तथ्यांकले अनुमानभन्दा निकै बढी हुनसक्छ ।
गरिब देशका ३७ प्रतिशत महिलाले आफ्नो जीवनमा नजिकको साथीबाट शारीरिक वा यौन हिंसाको अनुभव गरेका छन् । केही देशमा त यो संख्या ५० प्रतिशतसम्म छ । विकसित भनिएको युरोपमा २३ प्रतिशत महिलाले यस्तो हिंसा भोगेका छन् ।
कम उमेरदेखि नै हिंसा
विश्व स्वास्थ्य संगठन भन्छ- हिंसाको सुरुवात खतरनाक रूपले कम उमेरमै भइसकेको हुन्छ । १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरु जो कुनै रिलेसनसिपमा छन् उनीहरुमध्ये चारमा एकले आफ्नै साथीद्वारा शारीरिक वा यौन हिंसाको सामना गरेको पाइएको छ ।
प्रतिक्रिया