नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने अमेरिकालाई रुसको चेतावनी

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताएका छन् ।
बिहीबार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताएका हुन् । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताएका थिए ।
रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो । उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो । बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ ।
युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन् । अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ । तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ ।
उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ ।रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ । बीबीसी
प्रतिक्रिया