हिउँमा रमाउँदै रुकुमपूर्वका बासिन्दा, रमाइलो दृष्यको फोटो सामाजिक सन्जालमा

रुकुमपूर्व । रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मंगलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ । कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ ।
जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् । विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । अहिले भूमे गाउँपालिका १ को लुकुम आसपास क्षेत्रमा हिउँ खेल्नेको भीड देख्न सकिने लकुमकी सीता मगरले बताइन् । अहिले हिउँ हेर्न जाने र ओहोरदोहोर गर्नेको चहलपहलले भूमेमा रौनकता थपिएको उनले जानकारी दिइन् । तमु ल्होसारका कारण सार्वजनिक बिदा भएपछि सरकारी कर्मचारी पनि हिउँ खेल्न लुकुम पुगेका थिए ।
भूमे गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले अहिले रुपगामा रुकुमकोट र रुकुमपश्चिमका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्ने गरेको बताए । जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसँगको सहकार्यमा बाटोमा जमेको हिउँ पन्छाउन सुरु गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका जाने बाटोमा पनि बाक्लो हिउँ जमेको छ । त्यहाँको बाटो सञ्चालन गरिएको छ । बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत गर्ने गरेका छन् ।
प्रतिक्रिया