आइतबार, जेठ ५, २०८२

अस्ट्रियामा बन्यो अरूको सहयोग लिएर मृत्यु रोज्न पाउने कानुन

नेपालखोज २०७८ पुष १९ गते २१:०५

काठमाडाैं । मध्य युरोपेली मुलुक अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन् ।

संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्‌ले यस सम्बन्धी कानुन बनाएको थियो । तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्यांकन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ । ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।

मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजून् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन् ।

आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ । स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन ।

यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ। नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ ।

आफ्नो जीवन अन्त्य गर्न चाहने वयस्कहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेर आफ्नो निर्णय आफैँ लिन सक्षम भएको निश्चित गर्नुपर्नेछ । दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरूले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ सातासम्म पर्खिनुपर्नेछ । निको भएका बिरामीले पनि दुई सातासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ ।

यो प्रतीक्षा अवधिपछि पनि आत्महत्या रोज्न दृढ देखिए उनीहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि लिन पाउँछन् ।

प्राणघातक औषधिको दुरुपयोग रोक्न मानिसहरूले आत्महत्याको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ । यस्ता औषधि पसलहरूलाई आफ्नो विज्ञापन गर्नसमेत रोक लगाइएको छ । बीबीसी

प्रतिक्रिया