शुक्रबार, असार १३, २०८२

‘पार्टीको महाधिवेशनले गर्दा देशमा कोरोना भयावह‘

नेपालखोज २०७८ पुष २६ गते १७:००

काठमाडौं । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी छ ।

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकाले कोरोना संक्रमण फैलिएको बताए । उनले भने, ‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए ।

सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेकोमा उनले दुखेसो व्यक्त गरे । कुनै पनि दल र दलका नेताहरुको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत उनले बताए । उनले सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको बताए ।

आफुले २ वर्ष अगावै रिपोर्टर्स क्लबबाट कारोना भाइरसको खतराबारे जानकारी दिएको उनले बताए । भाइरसलाई भ्रष्टचारीको संज्ञा दिदै उनले भने, ‘भ्रष्टाचारीलाई जति नै मासियो भनेपनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरुको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनले बताए ।

भुटानले सबै जनसंख्यालाई २ डोज दिइसक्दा नेपालले बालबालिकाहरुलाई खोप दिन नसकेको भन्दै उनले गुनासो व्यक्त गरे । विद्यार्थी, नेता, बन्द कोठामा बस्ने तथा बाहिर हिड्नेहरुले मास्कको प्रयोग नगरेको उनले आरोप लगाए । मास्क लगाएर, कोरोना प्रोटोकल्सको प्रयोग गरेर आफु मात्र नभएर परिवार र सिंगो समुदायलाई बचाउनुपर्ने उनको भनाई थियो ।

खोप नै भाइरसको संक्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै डा.दिक्षितले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘एक महिना भित्र खोप ल्याउनु । जतिसक्दो चाडो खोप दिइन्छ त्यत्ति नै चाडो संक्रमण बढ्न पाउँदैन ।’ ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए । सरकारको अहिलेको पहिलो प्राथमिकता बालबालिकाहरुलाई खोपको व्यवस्था गर्ने हो भन्दै उनले ओम्नीकाण्ड, सुनकाण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे ।

लकडाउन समस्याको समाधान होइन् भन्दै उनले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे । उनले भने, ‘भाइरस जहाँबाट पनि छिर्छ । लकडाउनको कुनै अर्थ छैन् ।’

प्रतिक्रिया