आइतबार, असार २२, २०८२

न्युजिल्यान्डकी प्रधानमन्त्रीले कोभिडका कारण स्थगित गरिन् आफ्नै विवाह

नेपालखोज २०७८ माघ ९ गते १९:४५

काठमाडाैं । न्युजिल्यान्डमा कोरोना संक्रमण लगातार बढिरहेको छ । यसबीच न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नो विवाह हाललाई स्थगित गरेकी छन् ।

देशमा ओमिक्रोन भेरियन्टको प्रकोप बढ्न थालेपछि सरकारले त्यहाँ कोभिड प्रतिबन्धहरुमा कडाइ गर्दै लगे पछि प्रधानमन्त्री जेसिन्डा आफ्नै विवाह कार्यक्रम रद्द गर्न बाध्य भएकी हुन् ।

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डाले नयाँ कोभिड प्रतिबन्धहरु लागु भएक‍ो घोषणा गर्दै आफ्नो विवाह तत्काल नहुने जानकारी दिइन् । विवाह कार्यक्रम रद्ध गर्ने कुरा सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘म आम नागरिकहरु भन्दा अलग होइन र छैन ।’

न्युजील्यान्डकी प्रधानमन्त्री अर्डर्न र लामो समय देखिका उनका साथी क्लार्क गेफोर्डले आफ्नो विवाहको मिति घोषणा नगरे पनि केही साता भित्रै उनीहरु बीच विवाह हुने कुरा तय जस्तै थियो । पीएम अर्डर्नले भनेकी छन् ‘म न्युजील्यान्डका ती हजाराैं मानिसभन्दा अलग छैन जसले यो महामारीको विनाशकारी प्रभावलाई नजिकबाट अनुभव गरेका छन्, त्यसमा पनि सबैभन्दा बढी पीडा गम्भिर रूपले बिमारी हुँदा पनि प्रियजनका साथमा रहन नपाउँदा हुन्छ । यसमा म दुखको अनुभव गर्छु ।’

न्युजील्यान्डमा आज आइतबार मध्यराती देखि ‘रेड सेटिङ’ प्रतिबन्ध लागु हुँदैछ जस अनुसार अब कुनै पनि समारोहमा १०० भन्दा बढी मानिस भेला हुन पाउने छैनन् भने त्यसमा पनि सबैले अनिवार्य रुपमा खोप लगाएकै हुनुपर्नेछ । यसै गरि सार्वजनिक यातायात तथा पसलहरुमा मास्क अनिवार्य गरिएको छ ।

प्रतिक्रिया