शनिबार, वैशाख १३, २०८२

‘गोरो’ बनाउने क्रिमको ‘कालो’ कथा

डा. अरुणा उप्रेती २०७८ माघ १९ गते ९:०९

अहिले विश्वभरमा ‘काला जाति’को अधिकारका लागि आवाज उठिरहेछ । ‘काला जातिप्रति गरिने अपमान कानुनी र सामाजिक रूपमा ठीक होइन’ भन्ने शब्द सामाजिक सन्जाल, सडकमा जताततै देखिन्छन् । तर हाम्रो समाजमा कालो वर्णको महिला, पुरूषबारे अवहेलना गर्ने चलनबारे चाहिँ प्राय: कोही बोल्दैनन् ।

विशेषगरी विवाह गर्ने बेलामा भावी बुहारी हेर्न जानेहरूले ‘केटीको रंग’ कस्तो छ भनेर पहिलो प्रश्न हुन्छ । मानौं सेतो रङमै संसार अडिएको छ । अहिले त ‘सेतो रंगको काला जादूले पुरूषहरूलाई पनि छोएको छ । त्यसैले शाहरूख खानले विज्ञापनमा युवकलाई गिल्ल गर्छन् र भन्छन्- के केटीको गोरो हुने क्रिम लगाएको ? केटाहरू गोरो हुन त विशेष क्रिम लगाउनुपर्छ, ‘फेयर एन्ड ह्यान्डसम !’

अनि अहिले केटाहरूलाई पनि ‘गोरो’ हुनुपर्ने बाध्यता छ । यसले गर्दा यस्ता क्रिम बनाउने कम्पनीहरूको व्यापार बढेको छ । मानवजीवनको चाहिँ अवमूल्यन भएको छ । शरीर विज्ञानले भन्छ- रंग गोरो वा कालो हुने भन्ने कुरा शिशु जन्मिँदाखेरि नै निर्धारित हुन्छ ।
गर्मी ठाउँमा वा जाडो ठाउँमा बस्ने मानिसको रंग पनि फरक हुन्छ । शरीरमा पाइने मेलानिन नामक तत्त्वका कारणले कोही गोरो कोही कालो हुन्छ । कालो वर्ण लिएर जन्मेका तर पछि आफ्नो छालाको रंग अनेक तरिकाले फेरेर गोरो बनेका प्रसिद्ध गायक माइकल ज्याक्सनको दुःखद कथामा गोरो रंग बनाउन उनले कति प्रयत्न गरे, सायद सबैलाई थाहा नै छ ।

उनी आफ्नो कालो रंगबाट मुक्ति पाउन चाहन्थे र त्यसलाई अनेक शल्यक्रिया गरेपछि उनको छालाको रंग त परिवर्तन भयो । तर त्यो परिवर्तन गर्न शल्यक्रिया गर्दा पछि लगातारको दुखाइ उनको जीवनको अंग बन्यो । त्यो दुखाइ कम गर्ने औषधि नै उनको मृत्युको कारण बन्यो ।

माइकल ज्याक्सनले सायद विचार गरेनन् कि उनको गीतमा झुम्मिनेहरूले उनको रंग होइन उनको स्वरको पछि लागेका हुन् ।
कालो रंग नै भए पनि उनी सबैका प्रिय हुन्थे । नेपालमा कालो, गहुँगोरो, पहेंलो छालाको रंग जस्तो सुकै होस् स्वास्थ्य राम्रो हुनुपर्छ, छाला आफैं राम्रो देखिन्छ भन्ने छलफल हुँदैन ।

अति बिरामी भएका व्यक्तिहरूले जतिसुकै क्रिम लगाए पनि उनीहरूको अनुहारमा कान्ति र चमक आउँदैन । स्वस्थ मानिसले दूधको ‘तर’ मात्रै लगाए पुग्छ । स्वस्थ युवक युवतीहरूले अनुहारमा अनेक किसिमका गोरोपनका क्रिम लगाउँदा अनुहारमा अनेक किसिमका दाग, धब्बा आदि चाहिँ पछि देखा पर्छन् । एकछिन गोरो रंग होस् भनेर लगाएको क्रिमले शरीरमा पछि धेरै बेफाइदा गर्न सक्छ भन्ने प्राय: याद हुँदैन ।

केटीहरू मात्र होइन, केटाहरूले पनि साथीभाइको सल्लाह र सहयोगमा अनेक किसिमका शृंगार गरेर आफूलाई बढी सुन्दर बनाउने प्रयास गरिरहेका हुन्छन् । यसरी शृंगार गर्दा दीर्घकालमा त्यसले अनेक समस्या सिर्जना गरिरहेको हुन्छ । कतिलाई आफ्नो शृंगारको सामग्रीले नै कुरूप बनाइरहेको छ भन्ने हेक्कासमेत भइरहेको हुँदैन । आफैँले लगाएको शृंगार सामग्रीले अनुहार कुरूप बनेपछि चिकित्सकहरूकहाँ अत्तालिँदै उपचार गर्न जानेहरूको संख्या हाल दैनिक रूपमा बढिरहेको सम्बन्धित चिकित्सकहरूको भनाइ छ । अझ त्यसमा पनि छालालाई गोरो बनाउने भनेर लगाइएका क्रिमहरूले बढी मात्रामा अनुहारमा क्षति पुर्याइरहेको पाइएको छ ।

प्राकृतिक रङलाई रोग मानेर सेतो बनाउने ‘क्रिम’ लगाउन थालेपछि साँच्ची नै छालामा अनेक रोग देखा पर्छन् ।

गलत विज्ञापनले हाम्रो समाजमा भ्रम पैदा गरेका छन् र यसले विशेषगरी किशोरीहरू, युवतीहरू र महिलाहरूलाई जसरी भए पनि गोरो हुनैपर्ने बाध्यता पैदा गरेको छ ।

प्रतिक्रिया