वर्ल्ड टुरिज्म ब्यारोमिटर विश्व पर्यटनमा ठूलो क्षति

काठमाडौं । कोरोना महामारीभन्दा पहिले अर्थात् २०१९ को तुलनामा २०२० को पर्यटनमा ७२ प्रतिशतले कमी आएको एक तथ्यांकले देखाएको छ । २०२० मा सारा संसार कोरोनाको पहिलो लहरको चपेटामा आइसकेको थियो ।
संयुक्त राष्ट्र वर्ल्ड टुरिज्म अर्गनाइजेसन (यूएनडब्ल्यूटीओ) का अनुसार कोरोना संक्रमणका कारण आवागमन तथा यातायातका साधनहरुमा प्रतिबन्ध लागेकाले संसारमा टुरिज्म सेक्टरको रिकभरी रफ्तार निकै सुस्त छ । २०२१ मा संसारको आर्थिक क्षेत्रमा पर्यटनको योगदान १.९ ट्रिलियन डलर (१.६८ ट्रिलियन युरो) जति रह्यो । यो २०२० को १.६ ट्रिलियन डलरभन्दा केही बढी भए पनि कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको ३.५ ट्रिलियन डलरभन्दा निकै कम हो ।
यूएन एजेन्सीको वर्ल्ड टुरिज्म ब्यारोमिटरअनुसार, कोरोनाको नयाँ र तीव्र गतिमा फैलने ओमिक्रोन भेरियन्ट पहिलेको तुलनामा कम गम्भीर भए पनि यसको संक्रमणको रफ्तारका कारण यसले पर्यटन क्षेत्रको ‘रिकभरीमा बाधा’ नै खडा गरेको छ । ब्यारोमिटरका अनुसार पर्यटन क्षेत्रमा २०२१ मा अघिल्लो वर्ष २०२० को तुलनामा चार प्रतिशतको वृद्धि देखियो ।
संसारभर फैलिएको कोरोना भाइरसको महामारिका कारण धेरै देशको अर्थतन्त्र चौपट मात्र भएन यसले संसारकै अर्थव्यवस्थालाई समेत तहसनहस बनायो । यद्यपि यो महामारीको ठूलो दुस्प्रभाव पर्यटन क्षेत्रमा देखापर्यो । कोरोना संक्रमणको चेन तोड्न एक देशबाट अर्को देश जान लगाइँदै आएको प्रतिबन्ध अहिले पनि जारी छ र यस्तो अवस्थामा पर्यटन क्षेत्र पुन: आफ्नो लयमा कहिले फर्कने हो अनिश्चित नै छ । वर्ल्ड टुरिज्म अर्गनाइजेसनको अनुमानअनुसार २०२४ पहिले पर्यटन क्षेत्र महामारीअघिको अवस्थामा फर्कने सम्भावना देखिँदैन ।
प्रतिक्रिया