मंगलबार, वैशाख १६, २०८२

कुन विकास बैंकमा कति प्रतिशत कर्जा खराब छ ? (तालिकासहित)

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये आधा दर्जनमा खराब कर्जा बढ्यो

नेपालखोज २०७८ माघ २० गते २०:४५

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको असर विकास बैंकहरूको कर्जामा पनि देखिएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये हालसम्म १४ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । महामारीकै कारण आधा दर्जन विकास बैंकमा खराब कर्जाको मात्रा बढेको छ ।

जसअनुसार कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकमा खराब कर्जाको मात्रा बढेको छ । चालु आवको दोस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकमा भने खराब कर्जाको मात्र गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेहरूमध्ये सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा नारायणीमा चार दशमलव ६० प्रतिशत कर्जा खराब देखिँदा मुक्तिनाथमा जम्मा शून्य दशमलव २६ प्रतिशत मात्र कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ४४ दशमलव ९७ र शून्य दशमलव ३० प्रतिशत देखिएको थियो ।

कर्पोरेट, महालक्ष्मी र कर्णाली डेभलपमेन्ट बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः तीन दशमलव ६६, दुई दशमलव ८९ र दुई दशमलव ६९ प्रतिशत छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव २५, चार दशमलव ७९ र एक दशमलव १६ प्रतिशत थियो ।

यसैगरी सिन्धु, ग्रिन, कामना सेवा र लुम्बिनी विकास बैंकहरूमा भने चालु आवको दोस्रो त्रैमासमा क्रमश दुई दशमलव ६७, दुई दशमलव ३१, एक दशमलव ७७ र एक दशमलव ६७ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ५२, दुई दशमलव ५५, एक दशमलव ५९ र दुई दशमलव ५१ प्रतिशत छन् ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा ज्योति, मितेरी, सांग्रिला, साइन रेसुंगा र गरिमा विकास बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः एक दशमलव ४७, एक दशमलव ३१, एक दशमलव १२५, शून्य दशमलव ९८ र शून्य दशमलव ९६ प्रतिशत छन् । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ६८, शून्य दशमलव ४८, दुई दशमलव ४३, एक दशमलव २७ र शून्य दशमलव ९४ प्रतिशत रहेका थिए ।

एक्सेल डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले भने अझै चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् ।

विकास बैंकहरूमा रहेको निष्क्रिय कर्जा रकम (प्रतिशतमा)

प्रतिक्रिया