सोमबार, असार २३, २०८२

अपराधमा लगाम लगाउन असफल अमेरिका

नेपालखोज २०७८ माघ २५ गते १९:१९

काठमाडौं । कोरोना महामारीका दौरान अमेरिकामा अपराधका घटना पनि अप्रत्याशित रुपमा बढेको तथ्यांकले देखाएको छ ।

अमेरिकी जाँच एजेन्सी एफबीआईले हालै जारी गरेको तथ्यांकअनुसार अमेरिकामा २०२० मा मानव हत्याका २१ हजार पाँच सय घटना दर्ता भए अर्थात् प्रत्येक दिन करिब ५९ वटा घटना । यो २०१९ को तुलनामा करिब ३० प्रतिशत बढी हो । जबदेखि अपराधका घटनाक‍ो रेकर्ड संघीय स्तरमा राख्न थालियो त्यसपछिको यो सबैभन्दा ठूलो वृद्धि हो ।

हत्यामा वृद्धि
अमेरिकी सिनेटर वरिष्ठ रिपब्लिकन नेता मिच म्याककोनेल भन्छन्, ‘अमेरिकी सडकमा रेकर्ड बनाउने खालको हत्याले भरिएको वर्षपछि मानिसहरु हिंस्रक अपराधको भयका बीच बाँच्न विवश छन् ।’

अमेरिकामा मानवहत्याको दर २०२१ मा थप बढ्ने क्रम जारी छ । थिंक ट्यांक काउन्सिल अन क्रिमिनल जस्टिसको एक तथ्यांकअनुसार यस्तो अपराध पाँच प्रतिशतका दरले बढिरहेको छ ।

अमेरिकाको पुलिस रेकर्डमा यस्ता घटनाको जातीय व्यवहोरा उल्लेख गरिँदैन । यद्यपि एफबीआईमा २०२० जति घटना दर्ता भए त्यसमा मानवहत्याका करिब दश हजार घटनामा अफ्रिकी अमेरिकी पीडित थिए, अर्थात् कुल घटनाको करिब आधा ।

अमेरिकाको जनसंख्यामा काला जातिको उपस्थिति १२ प्रतिशत जति छ । यस्तो स्थितिमा मानवहत्याको घटनाको हिसाब लगाउँदा काला जातिमा यो चार गुणा बढी हो । समय-समयमा अमेरिकामा कालाहरुप्रति घृणा बढेको रिपोर्टहरु पनि आइरहन्छ ।

अमेरिकामा हुने हत्या अरुभन्दा बढी
अमेरिकामा २०२० मा मात्र हरेक एक लाख मानिसमध्ये ६.५ जना हत्याको सिकार भए । यो अरु धनी देशको तुलनामा बढी हो । विश्व बैंकको तथ्यांकअनुसार फ्रान्स, जर्मनी तथा अस्ट्रेलियामा प्रत्येक एक लाख मानिसमध्ये केवल एकजना हत्याको सिकार हुन्छन् जबकि क्यानाडामा यसरी मारिने दुईजना हुन्छन् ।

सिकागो अमेरिकाको तेस्रो ठूलो सहर हो । यहाँ गएको वर्ष हत्याका ८३६ वटा घटना सार्वजनिक भए । उता दक्षिणी राज्य टेनेसीको मेन्मफिस सहरमा हत्याको दर सबैभन्दा बढी रह्‌यो । त्यहाँ हरेक एक लाख मानिसमध्ये २.३५२ जना हत्याको सिकार भए ।

बन्दुकको खुला बिक्री
अमेरिका हुने हत्यामध्ये तीनचौथाइ हत्यामा बन्दुक प्रयोग गरिन्छ । अमेरिकामा पेस्तोल, रिभल्वर तथा यस्तै अरु हतियारको बिक्री लगातार बढिरहेको छ । २०२० मा अमेरिकामा २.३ करोड बन्दुक बिक्री भएको थियो जुन आफैंमा एउटा रेकर्ड हो । अमेरिकामा २०२१ मा पनि थप दुई करोड बन्दुक बिक्री भयो । यो तथ्यांक स्मल आर्म्स एनालिटिक्स नामको वेबसाइटले तयार पारेको हो । अमेरिकामा बन्दुक राख्नु यस्तो कुसंस्कृतिका रुपमा विकास भइरहेको छ । जुन निर्दोषहरुका लागि प्राणघातक साबित भइरहेको छ ।

माथिको तथ्यांकमा कालोबजारमा बेचिने हतियार जोडिएको छैन । अमेरिकामा यसलाई ‘घोस्ट गन’ भनिन्छ । यी बन्दुक खोलेर अलग-अलग भागमा बाँडेर बिक्री गरिन्छ । यस्ता बन्दुकमा कुनै सिरियल नम्बर हुँदैन भने अपराधीहरुले यी बन्दुक महँगो मूल्य चुकाएर खरिद गर्छन् । पीयूको एक सर्वेक्षणअनुसार जुन २०२१ मा ३० प्रतिशत वयस्क अमेरिकीले आफूसँग कम्तिमा एउटा बन्दुक भएको बताएका थिए ।
-एएफपीको रिपोर्टमा आधारित

प्रतिक्रिया