सोमबार, वैशाख १५, २०८२

मनुष्यको एक मात्र शत्रु ‘मन’

एलपी भानु शर्मा २०७८ माघ २६ गते ८:४१


-जीवन आफ्ना विचारहरूको सिर्जना हो !
आज जे भइरहेको छ त्यो मैले हिजो रोजेका विचारहरूको परिणाम हो । आज जुन विचारहरू म रोजिरहेको छु तिनको परिणाम नै भोलिको जीवन हो ।

-विगतका दु:ख, असफलता र नमीठा अनुभवहरूको दुष्प्रभावबाट मनलाई मुक्त राख्नु नै वर्तमान क्षणप्रतिको सच्चा सम्मान हो ।

-योगका प्रमुख सात आयाम/प्रसाद/उपलब्धि :
१. शारीरिक स्वास्थ्य र क्रियाशीलता
२. खुसियाली र मानसिक स्वास्थ्य
३. इच्छाशक्ति र सर्वांगीण समृद्धि
४. भावनात्मक स्वास्थ्य र विश्वबन्धुत्व
५. ज्ञान, सिर्जनशीलता र नेतृत्व
६. दु:खमुक्ति र संकल्पशक्ति
७. पूर्णता र परमात्मा साक्षात्कार

-कुनै पनि काम आंफैमा सानो या ठूलो हुंदैन ।
सानो र छोटो सोचका साथ ठूलो काम गरे पनि सकारात्मक परिणाम आउंदैन ।
ठूलो र दीर्घकालीन सोच राखेर सानो काम गरे पनि सकारात्मक र ठूलो परिणाम आउंछ ।

-जुन काम गर्दा आफ्नो चेतना, मन र शरीर एक भएर पूरै लयबद्ध भएको अनुभव हुन्छ, त्यसैमा आफ्नो भाग्य लुकेको हुन्छ ।

-समस्या मात्र देख्ने मन ‘नकारात्मक’ हो ।
समस्या देख्दा समाधानको तरिका सोच्ने मन ‘सकारात्मक’ हो । समाधानलाई व्यवहारिक तवरले सोचेर आफूले सक्ने जति पहल पनि गर्ने मनचाहिँ ‘महान्’ हो ।

-जीवनको सर्वोत्कृष्ट क्षण त्यो हो जब तपाईंलाई थाहा हुन्छ कि तपाईंबाट तपाईं आफू होइन साक्षात् परमात्मा नै अभिव्यक्त भइरहेको छ । यो मानव जीवनको परम् अनुभूति हो ।

-युवा त्यो हो जसका सपनाहरू जीवित छन्,
र सपनाहरूमाथि काम गर्ने दृढता, जोश र उत्साह ज्युँदै छ ।

-तपाईं आफूभित्र नभएका बेलामा तपाईंभित्र तनाव बस्छ ।
तपाईं आफ्नो घर फर्कनुभयो भने तनावले तपाईंभित्र बस्ने ठाउँ भेट्दैन ।

-समृद्धिका सबै अवरोधहरू आन्तरिक या मानसिक नै हुन्छन् ।
बाहिर समस्या देख्ने मन पनि भित्र नै हुन्छ ।

-शरीरले मनलाई नियन्त्रण गर्छ भन्ने लाग्छ भने कुनै काम गरिसकेपछि फुर्सदमा बसेर सोचे भयो तर शरीर मनको छाया हो भन्ने थाहा छ भने पहिले पूरै सोचेर अनि मात्र काम गर्नुपर्छ । बिनासोचको कामले परिणाम ल्याउँदैन ।

प्रतिक्रिया