सोमबार, वैशाख १५, २०८२

रावण र दुर्योधनका पत्नीले पतिकाे मृत्युपश्चात के गरे ?

नेपालखोज २०७८ माघ २६ गते ५:००

हिन्दुहरूको पवित्र ग्रन्थ रामायण र महाभारतमा धर्म र मुक्तिको कुरा मात्र नभई तत्कालीन सामाजिक व्यवस्थाको अवस्थाको बारेमा पनि थाहा पाउन सकिन्छ । यी ग्रन्थमा नारीलाई पतिव्रता देखाइएको छ भने राक्षसका पत्नीहरूको बारेमा अनौठो कुरा लेखिएको छ । विशेषगरी रावण र दुर्योधनका पत्नीले पतिको मृत्युपछि गरेको कामका बारेमा थाहा पाएर हामीलाई आश्चर्यचकित पार्न सक्छ ।

रावणकी पत्नी मन्दोदरीलाई आफ्नो पतिले सीतालाई अपहरण गरेर ल्याएको थाहा भएपछि निकै दुःख लाग्यो । उनले रावणलाई सम्झाइबुझाइ गरेर सीतालाई रामसमक्ष सुम्पिन विनती गरिन् । तर रावणले मन्दोदरीको कुरै सुनेनन् र रामसँग युद्ध गर्न तयार भए । रावणका भाइ विभीषण रामको शरणमा गए । त्यसैले रावणको कुलमा उनी मात्र बाँचे । युद्धको अन्तिम चरणमा रावण मृत्युशय्यामा पल्टेका थिए । त्यतिखेर उनले मन्दोदरीलाई म मरेपछि तिम्रो दुर्दशा नहोस्, भाइ विभीषणसँग विवाह गर भने । पतिव्रता भएका कारण मन्दोदरीले रावणको आज्ञा मानिन् र देवरसँग विवाह गर्न तयार भइन् ।

यसरी रावणको मृत्युपछि मन्दोदरी लंकाकी महारानी भइरहिन् । रामायणमा पतिको मृत्युपछि देवरसँग बिहेको गरेको अर्को घटना पनि छ । विभीषण र मन्दोदरीभन्दा अघि बालीकी पत्नी ताराले पनि यसै गरेकी थिइन् । रामले बालीको वध गरेपछि बालीले पनि ताराको सुरक्षाका लागि उनलाई भाइ सुग्रीवलाई सुम्पेका थिए । मृत्युशय्यामा पल्टेका बालीले पत्नीको हात सुग्रीवको हातमा राखिदिएका थिए ।

राजा चन्द्रवर्माकी छोरी भानुमती स्वर्गका अप्सराहरूभन्दा पनि सुन्दरी थिइन् । राजाले आफ्नी छोरीका लागि सुयोग्य वर प्राप्त गर्न स्वयंवर राखे । त्यहाँ दुर्योधन र कर्ण पनि आएका थिए । भानुमतीलाई देखेर दुर्योधनले उनैसँग विवाह गर्ने ठाने । स्वयंवरमा वरमाला लिएर गएकी भानुमतीले दुर्योधनलाई वास्ता गरिनन् । दुर्योधन रिसाए र जबर्जस्ती वरमाला आफ्नो गलामा हाले । त्यहाँ पुगेका अन्य राजाले यसको विरोध गर्दा उनले सबैलाई युद्धको चेतावनी दिए ।

चुनौती स्वीकार गर्ने राजालाई दुर्योधनले कर्णसँग भिडाए । कर्णले सबैलाई हराइदिए । दुर्योधनले यसरी जबर्जस्ती भानुमतीसँग विवाह गरे । तर भानुमती कर्णको वीरताबाट प्रभावित भएर उनलाई मनमनै चाहन्थिन् । महाभारतको युद्धमा कर्ण र दुर्योधन दुवै मरे । अर्नुनका पुत्र अभिमन्युले भानुमतीका छोरा लक्ष्मणको वध गरे । तर महाभारत युद्ध समाप्त भएपछि भानुमती पाण्डवहरूसँग रिसाइनन् र अर्जुनसँग विवाह गर्न स्वीकार गरिन् ।

प्रतिक्रिया