मंगलबार, वैशाख १८, २०८१

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक

नेपालखोज २०७६ फागुन ११ गते १०:०८

सुर्खेत । कर्णालीमा प्रदेश सरकारको बजेट खर्च निराशाजनक रहेको छ । चालु आर्थिक वर्षको २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार पँुजीगत अर्थात् विकास बजेटमध्ये ७ महिनामा जम्मा ७० करोड मात्रै खर्च भएको छ ।

आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी छ। बाँकी अवधिमा प्रदेश सरकारले विकासतर्फको सबै बजेट कार्यान्वयन गर्नसक्ने अवस्था देखिँदैन् ।

अघिल्ला आर्थिक वर्षमा कर्मचारी अभाव र संरचना नहुँदा बजेट खर्च नभएको जिकिर गर्दै आएको प्रदेश सरकारले यसपाली पनि विकास बजेट खर्च गर्न सकेको छैन् । चालुतर्फको बजेट केही खर्च भए पनि विकास बजेट कार्यान्वयनमा प्रदेश सरकार असफल देखिएको हो ।

प्रदेश महालेखा नियन्त्रकको कार्यालय सुर्खेतका अनुसार साउनदेखि पुस मसान्तसम्म विकास तर्फको ७० करोड १६ लाख ९३ हजार ७ सय ९९ रुपैयाँ मात्र खर्च भएको छ ।

सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा थोरै बजेट खर्च गरेको छ ।

खर्च भएको कुल बजेटमध्ये भौतिक पूर्वाधारले ४० करोड ३१ लाख ८२ हजार २ सय ८८ रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले १८ करोड ५० लाख ५५ हजार ६ सय १७ रुपैयाँ, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ करोड २४ लाख ४ हजार ४ सय ४३ रुपैयाँ, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ५ करोड ४३ लाख ९४ हजार ५ सय ६६ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया