युक्रेनमा आक्रमण गर्न पुटिनलाई सल्लाहाकारले उक्साए !
स्वार्थ पूरा हुने निष्कर्षमा पुगेपछि युक्रेनमा सुरु भयो आक्रमण

मस्को । केही साताअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निष्कर्षमा पुगे । रुसले युक्रेनमाथि गरेको आक्रमणको प्रभाव युक्रेन र रुसमा मात्र नभई समस्त विश्वमा नै पर्ने भएको छ । युक्रेन आक्रमणपूर्व उनले विभिन्न शीर्ष व्यक्तिसँग परामर्श गदै सोही निष्कर्षका आधारमा युक्रेनमा आक्रमण गर्ने सोच बनाएका थिए ।
केही अन्तर्राष्ट्रिय विश्लेषकहरूले मस्कोले देखाएको सैन्यवाद र आक्रामक बोली ‘सिलोभिकी’ भनिने मन्त्री र सुरक्षा निकायका प्रमुखहरूको शक्तिशाली प्रभावको नतिजा अहिलेको युक्रेनमाथिको आक्रमण हो भनेका छन् । रुसलाई एक शक्तिशाली राष्ट्रपतीय गणतन्त्रको रूपमा लिन सकिन्छ । उस देशमा राष्ट्रपति भ्लादिमिर पुटिनको हातमा अधिकांश शक्ति निहित छ । अन्ततः देश कसरी चलाउने भन्ने सबै महत्त्वपूर्ण निर्णयहरू उनले व्यक्तिगत रूपमै लिन सक्ने प्रावधान पनि छ ।
शक्तिको यति फराकिलो दायरा हुँदाहुँदै पनि उनले आफ्ना केही निकटस्थहरूसँग भने परामर्श लिने गर्छन् । विशेषतः त्यस्ता व्यक्तिहरू जोसँग उनको लामो संगत छ र धेरै विश्वास छ, उनीहरूसँगै पुटिनले सल्लाह लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू दाबी गर्छन् । प्रायः सुरक्षा निकायको पृष्ठभूमि र बलियो धारणा भएका अधिकारीहरू उनका सल्लाहकारहरूमा पर्ने गर्छन् ।
रुसमा धेरै सुरक्षा र कानुन बनाउने निकायहरू छन्,जसलाई ‘सिलोभिकी’ भनिन्छ । रुसी भाषामा सिलाको अर्थ बल हुन्छ भनिन्छ । भ्लादिमिर पुटिन आफैँले तीमध्येको केजीबी भनिने गुप्तचर निकायबाट आफ्नो पेसागत यात्रा सुरु गरेका थिए । केजीबी सोभियत पतनपछि रुसी संघीय सुरक्षा सेवा (एफएसबी) बनेका थियो । पुटिन सत्तामा आएदेखि ‘सिलोभिकी’को प्रभाव बढ्दै गएको छ ।
रुसी राष्ट्रपति पुटिनले शीर्ष पाँच सल्लाहकारले सल्लाहा दिएअनुसार युक्रेनमा आक्रमण गरेको जनाइन्छ । रुसको अधिकांश आन्तरिक तथा परराष्ट्रनीतिका महत्त्वपूर्ण निर्णयहरू प्रायः सुरक्षा परिषद्को बैठकमा हुने गर्छ ।
उक्त परिषद्मा शीर्ष ‘सिलोभिकी’ छन् जसअन्तर्गत एफएसबी र परराष्ट्र गुप्तचर निकायका प्रमुखहरू, आन्तरिक, परराष्ट्र तथा रक्षामन्त्रीहरू, साथै प्रधानमन्त्री र संसद्का दुवै सदनका सभामुख पर्छन्। रुसी सुरक्षा परिषद्मा कुल ३० सदस्य छन्।
सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभ, रुसी सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभ र रुसी परराष्ट्र गुप्तचर निकाय प्रमुख सर्गेई नारीस्किन सबैले भ्लादिमिर पुटिनलाई दशकौँदेखि चिन्छन्। उनीहरू सन् १९७० देखि लेनिनग्राद भनिने सेन्ट पिटर्सबर्गबाट पुटिनसँगै सेवामा प्रवेश गरेका थिए ।
रक्षामन्त्री सर्गेई शोइगु र विदेशमन्त्री सर्गेई लाभ्रोफबाहेक अन्य पाँच व्यक्ति छन्, जो भ्लादिमिर पुटिनसँग निकट छन्।् । यी पाँच व्यक्तिको विचारलाई परराष्ट्रनीति मामिलाका निर्णयमा पुटिनले उच्च मूल्यांकन गर्छन्।
निकोलाई पात्रुशेभ सुरक्षा परिषद्का सचिव हुन्, पुटिन प्रमुख हुन्। पात्रुशेभ राष्ट्रपतिको टोलीभित्र एक महत्त्वपूर्ण पात्र हुन्। उनको र भ्लादिमिर पुटिनको संगत सन् १९७० बाट सुरु हुन्छ । सन् १९७० मा उनीहरू दुवैले लेनिनग्रादस्थित केजीबीमा सँगै काम थालेका थिए ।
केजीबीको उत्तराधिकारीको रूपमा आएको अर्को निकाय एफएसबीुको प्रमुखको रूपमा पुटिनको स्थानमा सन् १९९९ मा पात्रुशेभ आएका थिए । उनी सन् २००८ सम्म यो पदमा रहे । उनी पुटिनको सबैभन्दा निकटस्थमध्ये एक हुन् । सायद पुटिनमा सर्वाधिक प्रभाव जमाउन सक्ने बोली उनकै मानिन्छ ।
तर सबैभन्दा नजिकको विश्वासपात्र र सल्लाहकार वास्तवमा रुसी रक्षामन्त्री सर्गेई शोइगु हुन्, जसले रुसी सैन्य गुप्तचर निकाय ‘जीआरय’ समेत हेर्छन्। जीआरयूका चरहरूलाई सन् २०१८ मा ब्रिटेनमा भूतपूर्व रुसी एजेन्ट सेर्गेई स्क्राइपाल र सन् २०२० मा साइबेरियामा विपक्षी राजनीतिज्ञ एलेक्सी नाभाल्नीलाई विष दिएको आरोप लागेको थियो ।
स्रोतका अनुसार सन् १९९० को दशकमा पुटिन र शोइगुबीचको सम्बन्ध चिसो थियो । तर २००० को दशकमा उनीहरूको फेरि कुरा मिल्यो र अन्ततः घनिष्ठता बढ्यो । उनीहरू नियमित रूपमा साइबेरियामा सँगै छुट्टी मनाउन जान्छन्, जुन शोइगुको गृहनगर हो ।
एफएसबी प्रमुख अलेक्जान्डर बोर्तनिकोभले लेनिनग्रादस्थित केजीबीमा भ्लादिमिर पुटिनसँगै सेवा गरेका थिए । उनी सन् २००८ मा पात्रुशेभलाई प्रतिस्थापन गर्दै एफएसबी प्रमुख बनेका थिए । उनी दशकौँ अनुभव भएका काउन्टर इन्टेलिजन्श एजेन्ट हुन्।
जानकारहरूका अनुसार रुसी राष्ट्रपतिले एफएसबीबाट प्राप्त गरेको गुप्त जानकारीहरू अन्य कुनै पनि स्रोतबाट आएको जानकारीभन्दा बढी विश्वास गर्छन्। एफएसबीको कानुन बनाउने अन्य मन्त्रालयहरूमा पनि प्रभाव छ । आन्तरिक मन्त्रालय र अभियोजक जेनरलको कार्यालय ब्रिटेनको विशेष हवाई सेवा (एसएएस) जस्तै एफएसबीको पनि आफ्नै विशेष हवाई सैन्य बल छ, जसमा विशिष्ट अल्फा र भिम्पेल समूहहरू पर्छन्।
परराष्ट्र मामिलामन्त्री सर्गेई लाभ्रोफ हक्की र आक्रामक स्वभावका छन् । बोर्तनिकोभभन्दा विपरीत छन्। रुसका अनुभवी कूटनीतिज्ञमध्ये एक लाभ्रोफले सन् २००४ देखि लगभग दुई दशक परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्।
लाभ्रोफले पुटिनसँग अध्ययन वा सुरक्षा सेवामा सँगै काम भने गरेनन्।
यद्यपि, रुसी राष्ट्रपतिले उनलाई धेरै आदर गर्ने बताइन्छ । समकालीन साथी र संगतको साथ र सहयोगभन्दा पर आफ्नो व्यावसायिकता, कडा परिश्रम र लामो सेवा अवधिमा केही गल्ती नगरी उनले यो प्रतिष्ठा आर्जेका हुन्।
बोर्तनिकोभ र पात्रुशेभजस्तै, विदेशी गुप्तचर प्रमुख सर्गेई नारीस्किनले लेनिनग्रादमा भ्लादिमिर पुटिनसँगै सेवा गरेका थिए । गुप्तचर प्रमुख भए पनि उनी तुलनात्मक रूपमा एक सार्वजनिक अधिकारी हुन् ।नारीस्किनलाई व्यक्तिगत रूपमा चिन्नेहरू उनलाई पुटिनप्रति समर्पित र स्वभावगत तवरले आदेशहरूको अक्षरशः पालना गर्ने अधिकारीको रूपमा लिन्छन्।
सुरक्षासेवाको पृष्ठभूमि, तीक्ष्ण बुद्धि र व्यावसायिक अनुभवले उनलाई राष्ट्रपतिको भित्री वृत्तमा समाविष्ट हुन गर्न मद्दत पुगेको मानिन्छ । भ्लादिमिर पुटिन नारीस्किनको निकायले उपलब्ध गराउने खुफिया जानकारीहरूमा भर पर्ने गरेको विश्वास गरिन्छ ।
पुटिनले रुसी प्रतिष्ठानभित्र र बाहिरका अन्य प्रमुख व्यक्तित्वहरूसँग पनि व्यक्तिगत छलफल गर्ने बताइन्छ । राजनीतिक विश्लेषक येभ्गेनी मिन्चेन्को धेरै वर्षदेखि रुसी अभिजात वर्गको अध्ययन गर्दै आएका छन् । उनले नियमित रूपमा भ्लादिमिर पुटिनको संगतहरूबारे प्रतिवेदनहरू संकलन गर्छन्, जसलाई उनले सोभियत कम्युनिस्ट शीर्ष नेताहरूको सम्मानस्वरुप ‘पोलिटब्यूरो २.०’ भनेर सम्बोधन गर्छन्।
आफ्नो २०२१ को पछिल्लो प्रतिवेदनमा मिन्चेन्कोले राष्ट्रपति पुटिनको निकटस्थका रूपमा मस्कोका नगरप्रमुख सर्गेइ सोब्यानिन र राज्य–स्वामित्वको तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिन रहेको उल्लेख गरेका थिए ।
-बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया