बिहीबार, असार १९, २०८२

चुक्ता पुँजी ४ खर्ब ८ अर्ब २६ करोड रुपैयाँ नाघ्यो

नेपालखोज २०७८ फागुन १९ गते २०:३७

काठमाडौ । नेपाली बैंकिङ क्षेत्र वित्तीय रूपमा सबल बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सुरु गरी चुक्ता पुँजी वृद्धिसम्बन्धी व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा आएपश्चात पनि बैंक तथा फाइनान्स कम्पनीहरू वित्तीय रूपमा सबल भएका हुुन् ।झन्डै पाँच वर्षअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूको हकमा दुई अर्ब रुपैयाँ चुक्ता पुँजीलाई बढाएर आठ अर्ब पुर्याउनुपर्ने, राष्ट्रियस्तरका विकास बैंकहरूले ६४ करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर दुई अर्ब रुपैयाँ पुर्याउनुपर्ने र राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूले २० करोड रुपैयाँ चुक्ता पुँजीलाई वृद्धि गरेर ८० करोड रुपैयाँ पुर्याउनुुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यसको लागि हकप्रद सेयर र बोनसलाई समेत चुक्ता पुँजीमा गणना गर्न सक्ने व्यवस्था गरिएको थियो ।

केन्द्रीय बैंकले सोही व्यवस्था कार्यान्वयनमा ल्याएकै आधारमा अहिले बैंक तथा फाइनान्स कम्पनीहरू वित्तीय रूपमा निकै सबल देखिएका हुन् । ‘अहिले सञ्चालनमा रहेका ६७ वटा लघुवित्त वित्तीय संस्थाबाहेक २७ वटा वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहित ६१ वटा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल चुक्ता पुँजी चार खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ पुुगेको छ । यो चुक्ता पुँजी भनेको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कायम गरेको चुक्ता पुँजी हो,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । प्रवक्ता भट्टका अनुसार बैंकिङ क्षेत्रमा कायम रहेको कुल चुक्ता पुँजीमध्ये वाणिज्य बैंकहरूको मात्र हिस्सा तीन खर्ब ५९ अर्ब आठ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूमा कायम रहेको चुक्ता पुँजी भने क्रमशः ३७ अर्ब ४७ करोड २० लाख र १३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ रहेको छ । ‘अहिले धेरैवटा बैंक तथा बित्तीय संस्थाहरूले बोनस सेयर घोषणा गरेका कारण आगामी समय बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी अझै बढ्न सक्छ,’ प्रवक्ता भट्टले भने ।

प्रतिक्रिया