शुक्रबार, असार २०, २०८२

‘युवाहरुमा असल कर्म र श्रमप्रति विश्वास हुन आवश्यक’

नेपालखोज २०७८ फागुन १९ गते २०:४३

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवाहरुमा असल कर्म र श्रमप्रति विश्वास हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्को सातौँ स्थापना दिवसको अवसरमा बिहीवार भक्तपुरमा आयोजित नेपाली युवाको वर्तमान अवस्था, चुनौति र अवसर विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री गहतराजले नेपाली युवाहरुमा श्रमप्रति विश्वास हुनुपर्ने बताएका हुन् ।

देशमा युवाहरुका निम्ति धेरै अवसरहरु भएको भन्दै उनले युवाहरु उद्यम तथा व्यवसायमा लाग्नु पर्नेमा जोड दिए । युवाहरु असल कर्ममा लाग्नुपर्ने उनको भनाई छ । उनले नेपालमा केही राम्रो उपभोग्य वस्तु उत्पादन गरेर दुई ठुला छिमेकी मुलुकहरुलाई ग्राहक बनाउन सकेमा ठुलो आर्थिक उपार्जन हुनसक्ने बताए ।

उनले युवाहरुले सधैँ सकारात्मक सोच्नुपर्ने र सफलताको बाटोतर्फ अगाडी बढ्नुपर्ने बताए । अघिल्लो पुस्ताले देशमा राजनीतिक परिवर्तन गराएर अहिले देशमा युवाहरुका निम्ति केही गर्ने वातावरण बनेकाले युवाहरु निराश हुनु नपर्ने मन्त्री गहतराजले बताए ।

प्रतिक्रिया