‘अहिंसा, शान्ति र देशभक्तिका कट्टर हिमायती’

आज फागुन २० गते, नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्षस्थ नेता कृष्णप्रसाद भट्टराईको १२औं स्मृति दिवस हो । प्रजातन्त्रप्रतिको निष्ठाबाट टसको मस नभइ अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरुमध्येका एक भट्टराईको सम्झनलायक विशेषता भने दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहनसक्नुनै हो । नेपाली राजनीतिमा त्याग, सदाचार र निष्ठाका लागि विख्यात कृष्णप्रसाद भट्टराईलाई सन्त नेताका रूपमा पनि लिइन्छ ।
नेपाली कांग्रेसका संस्थापक महामन्त्री भट्टराई सत्ताइस वर्षको उमेरमा सल्लाहकार परिषद्का सभाध्यक्ष तथा विक्रम सम्वत् २०१५ मा ३४ वर्षको उमेरमा जनताद्वारा चुनिएको नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिएका थिए । भट्टराईले २०४६ सालमा पञ्चायत ढालेर बहुदलिय ब्यबस्था स्थापित गरिएपछि गठित अन्तरिम सरकारमा प्रधानमन्त्रीको कठिन जिम्मेवारी सम्हालेका थिए । उनकै पालामा २०४७ सालको संविधान आयो जसले त्यतिबेलाका शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्यायो ।
अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाडौंबाट चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अहिले पनि सम्झना गर्छन् । त्यसपछि भट्टराई २०५६ मा निर्वाचित सरकारको प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा २०१७ को शाही कू पछाडि लगातार १५ वर्ष जेल जीवन बिताएका भट्टराई अहिंसा, शान्ति र देशभक्तिका कट्टर हिमायती थिए । नेपाली राजनीतिमा दूरदृष्टि राख्ने र आफ्नो विश्वासमा सौदावाजीलाई स्थान नदिने सिद्धान्तका पालक किसुनजी अहिले बाँचिरहेका भए ९७ वर्ष पुग्नेथिए ।
उनको इमानदारीको प्रसंग चल्दा धेरैले सम्झने कुरा के पनि छ भने पार्टीको कोष हेर्ने जिम्मा पाएका बेला उनले आफ्नै पकेटको खर्चसमेत हिसाबकिताब गर्थे । दार्सनिक नेता भट्टराईको सबैभन्दा ठूलो तागत नैतिक राजनीति थियो । उनको निधन पछि नेपाली राजनितिमा नैतिकता र निष्ठाको एउटा पुर्नै नसकिने रित्तोपन देखा पर्यो । हँसिलो मिजास, ठट्यौलो पारा र बाँचुञ्जेल नछुटेको पानको शौक नजिकका मानिसहरुले किशुनजी भनेर सम्बोधन गर्ने गान्धीबादि नेता कृष्णप्रसाद भट्टराईका ब्यक्तिगत गुण थिए ।
राजासँग माफी नमागेको कारण सक्रिय राजतन्त्रको पञ्चायतकालमा १५ वर्षसम्म जेल बसेका भट्टराईले पछिल्लो समयमा गणतन्त्रको विरोध गर्ने लहरमा आफूलाई दृढतापूर्वक उभ्याए । खासगरी २००७ सालपछि सधैं शान्तिपूर्ण आन्दोलनको वकालत गरेका भट्टराईले जेलनेल पाएपनि स्वदेशमै बसेर प्रजातन्त्रका लागि राजासँग लड्न रुचाए ।
अविवाहित नेता भट्टराईले जिवनको पछिल्लोकालमा लगभग एक्लो जीवन बिताए । पार्टी, कार्यकर्ता र साथीसंगीबाट टाढिएर धर्मकर्मप्रति नजिकिएका भट्टराईलाई निकट सहयोगी अमिता कपालीले भने अन्तिम घडीसम्म हेरचाह गरेकी थिइन् ।
उनको २०६८ साल फागुन ३० गते ललितपुरको बाँडेगाउँस्थित आफ्नै आश्रममा निधन भएको थियो ।
स्रोत : बीबीसी नेपालीलगायत अन्य विभिन्न समाचारहरु
प्रतिक्रिया