शुक्रबार, असार २०, २०८२

प्रचण्ड र नारायणकाजीबीच भनाभन- आइतबारसम्म बैठक स्थगित

नेपालखोज २०७८ फागुन २० गते १७:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो । बैठकमा नारायणकाजी समूह वार कि पारको मुडमा छ । उनीहरुले माओवादी छाड्न सक्ने बताइएको छ ।

एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुसमोदन भएपछि पार्टीभित्र देखिएको विवाद समाधान लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुसमोदनका लागि पेस भएको छ । प्रचण्डले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकमा नेता नारयणकाजी श्रेष्ठले लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका छन् । श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

यता प्रचण्डले भने चुनावी गठबन्धन बनाउन एमसीसीमा साथ दिएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा फर्किने डरले पनि एमसीसी अनुमोदन गर्न दिइएको स्पष्ट पारे । उनले एमसीसी पास गरेर माओवादीको जित भएको धारणा व्यक्त गरे । उनले पार्टीमा असन्तुष्टलाई समेटेर लैजाने बताए ।

प्रतिक्रिया