तीनै तहको निर्वाचनमा एमालेको बहुमत : रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा एक्लै लड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आज उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।
आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने उनले दाबी गरे । उनले भने, ‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं। एमालेको लोकप्रियता जनताको बीचमा छ । एमालेले सरकारमा हुँदा देश र जनताको लागि जुन काम गरेको थियो, ती काम लिएर हामी जनताको बीचमा जान्छौं । हामीले गरेका कतिपय कामको कारण जनताको बीचमा एमाले लोकप्रिय छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउनेछन्। स्थानीय तहको निर्वाचनमा गठबन्धनमा विचार गर्छौं। अहिले सत्ता गठबन्धन सबै मिलेर आएपनि एमालेलाई खास फरक पर्दैन्। एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन्, बरु बढि नै आउँछ ।’
देश निर्वाचनमय भैसकेको पनि उनले बताए । उनले भने, ‘आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यद्धपी जनतामा अहिले यो निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका छ ।’
उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परमादेशबाट हटाउने काम भएको उल्लेख गर्दै कतै चुनावको मुखमा आएर सम्मानित सर्वोच्च अदालतबाट निर्वाचन रोक्ने काम त हुँदैन भन्ने आशंका जनताले गरेको टिप्पणी गरे ।
उनले भने, ‘यसमा मेरो भनाइ के छ भने एक त जुन प्रकारले सर्वोच्च अदालतबाट परमादेश दिने काम भयो, यसलाई मान्न त मान्यौं । यो परमादेश जनताको भावनाविपतिर थियो । परमादेश जारी गर्दा जुन शर्त राखेर जारी गरियो, अहिलेको सरकारले संसद भंग गर्ने कुरा पनि गरिरहेको छ, कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले समयमभन्दा अघि नै चुनाव हुने कुरा गरेका छन् । अहिले ओली सरकारले त्यतिवेला संसद् भंग गरेर निर्वाचन घोषणा गरेको कुरा सही रहेछ भन्ने पुष्टि हुँदैछ ।’
उनले सर्वोच्च अदालतबाट जनताको भावनाविपतिर निर्णय नहुने विश्वास दिलाए । उनले भने, ‘फेरि पनि अदालतले निर्वाचन रोक्ने निर्णय गर्यो भने नेपाली जनता सडकमा आउन बेर छैन् । म न्यायाधीशहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने सर्वोच्च अदालतको मर्यादाभित्र हुने काम, न्यायापालिकाको निर्णय पनि हो । कुनैपनि बहानामा निर्वाचन रोक्ने काम नहोस ।’
महासेठले प्रतिनिधिसभाको निर्वाचन छिटोभन्दा छिटो होस भन्ने धारणा पनि राखे । उनले भने, ‘न अहिले संसद् अघि बढ्न सकेको छ, सरकार स्वयं अनिर्णयको बन्दी भएर बसेको छ । सरकार आँफै अर्ली ईलेक्शनमा जान्छ भने, मेरो भनाई के छ भने परमादेश जारी गर्दा जुन शर्त राखेर देउवाजीलाई प्रधानमन्त्री नाउनु भनिएको छ । आफ्नो अनुकुल भएन भने भंगको विरुद्धमा मुद्दा लिएर जाने अनि अनि आफ्नो अनुकुल भयो भने भंग गर्ने, यस्तो काम सरकारले नगरोस ।’
उनले एमसीसीबारे आफ्नो पार्टीको कुनै आधिकारिक धारणा नआएको उल्लेख गरे । उनले एमसीसी सदनबाट पारित भएसँगै यसबारेको बहस अहिले सकिएको पनि बताए । उनले भने, ‘एमसीसी पारित भैसकेको छ। पास गर्ने बेलामा हामीसँग कुनै छलफल गरिएन । एमालेलाई बाईपास गरेर बहुमतको आधारमा सत्ता पक्षका साथीहरुले बलमिच्याँई गरेर पास गर्नुभयो । एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पनि सदनबाट पारित भएको छ, यो व्याख्यात्मक घोषणा नक्कली कुरा थियो । न त त्यसलाई एमसीसीले अहिले मान्यता दिएको छ, न भोलिका दिनमा पनि दिन्छ नै ।’
उनले माओवादी केन्द्रको आधिकारिक निर्णय त एमसीसी राष्ट्रघात छ भन्ने रहेको उल्लेख गरे । उनले भने, ‘तर, प्रचण्डले डबल स्ट्याण्डर्ड रोल प्ले गर्नुभयो । यो कार्यान्वयन कहिलेदेखि हुने ? भनेर किन यो व्याख्यात्मक घोषणामा यो कुरा राखिएन ? एमसीसी अघि बढाउनको लागि भारतको पनि स्विकृति चाहिन्छ । कहीँ एमसीसीलाई महाकालीजस्तै वर्षौसम्म कुरेर बस्नुपर्ने होईन ? एमसीसी पास भएपछि मैले यसलाई सम्मान गर्नुपर्छ। तर, प्रचण्ड र माधव नेपालले जनता ठग्ने कुरा गर्नुभयो।’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने/नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले भने, ‘अहिले परराष्ट्र नीतिको सवालमा यो सरकार कम्प्लिट्ली फेल भैसकेको छ । म तपाईँलाई भर्खरै एउटा कुरा स्मरण गराउन चाहन्छु, अहिले भर्खरै रुस–युक्रेनको लडाईँ भैरहेको छ । हामीले नेपालजस्तो देशले, जो बास्तवमा रुससँग २०१३ सालमा नै दौंत्य सम्बन्ध भएको हो, हामीले युद्ध सुरु हुनासाथ, नेपाल सरकारले प्रतिपक्षीसँग पनि सल्लाह नगरी, ठीक छ सरकारले गरेन, तर सरकारको नेताले त गर्न सक्थे नि, यसरी युक्रेन र रुसबीचको खराब सम्बन्धले गर्दा लडाईँ सुरु भैसक्यो, यसमा हाम्रो देशको भूमिका के हुन्छ ? कहिलेकाहीँ प्रतिपक्षीसँग पनि सरकारले सोध्ने गरेको ईतिहास छ, तर यो सरकारले हतारिएर रुस–युक्रेनको युद्धमा युक्रेनको पक्षमा मतदान गर्ने काम गर्यो । जबकी हाम्रा छिमेकी देशहरु भारत र चीन, जो अहिले संसारको आधा जनसंख्याभन्दापनि बढि छ, भारत र चीनसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका सबै तटस्थ बसे, ३५ वटा देश तटस्थ बसे । तर, हामी दुई छिमेकीको बीचमा बसेको देशले हामीलाई के हतार थियो ? हामी पनि त तटस्थ बस्नुपर्दथ्यो नि, यो सरकारले के देखाउन खोजेको छ ? नेपाल कुनै देशको खेमाभित्र पर्यो वा हामी पार्छौं भन्ने सोचका साथ उहाँहरुले हतारिएर मतदान गर्नुभयो ।’
प्रतिक्रिया