के कोरोनाविरुद्धको भ्याक्सिन प्रत्येक वर्ष लगाउनुपर्छ ?

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आएको तेस्रो लहर केही थामिएको छ भने संसारले बिस्तारै राहत महसुस गरी जीवन पुरानै लयमा फर्कन थालेको छ । यद्यपि विश्व स्वास्थ संगठन, सरकार तथा स्वास्थ्य विशेषज्ञहरुले कोभिडविरुद्धको भ्याक्सिन लगाउन तथा कोरोना प्रोटोकल पालन गर्न लगातार अपिल गरिरहेका छन् ।
अहिले ठाउँ-ठाउँमा कोरोनाका दुई डोजका अतिरिक्त बुस्टर डोज दिने काम पनि भइरहेको छ । यसैगरी १२ वर्षमाथिका बालबालिकाहरुका लागि पनि खोप तयार भइरहेको छ । आशा गरौं सरकारले यो खोप पनि समयमै नेपाल भित्र्याएर सुरक्षा एवं राहतको वातावरण तयार गर्नेछ ।
यद्यपि यसमा एउटा प्रश्न के उठिरहेको छ भने के अब कोरोनाको खोप नियमित लगाइरहनु पर्ने हो ? के अब यो खोप वार्षिक खोप तालिकामा सामेल हुँदै छ ? विशेषज्ञहरु भन्छन्- यो खोपलाई नियमित खोपमा सामेल गर्ने विषयमा त्यति काम भएको छैन किनभने यसका अनेकौं प्राविधिक पक्ष छन् । पहिले संसारभर उमेर, बिमारी तथा कामको प्रकृति हेरि श्रेणी विभाजन गरेर प्राथमिकताका आधारमा कोरोनाको दुई डोज खोप लगाइयो । यी दुई डोजबाट मानिसमा उत्पन्न इम्युनिटी र कोरोनाका नयाँ-नयाँ भेरियन्टलाई मध्यनजर गर्दै बुस्टर डोजको आवश्यकता महसुस गरियो । त्यसपछि नेपालमा मात्र होइन संसारभर नै प्राथमिकताका आधारमा बुस्टर डोज लगाउने काम चलिरहेको छ ।
भनिन्छ कोरोना भ्याक्सिनबाट प्राप्त हुने इम्युनिटीका सम्बन्धमा लगातार सोध-अध्ययन भइरहेको छ । यो बिमारी नयाँ भएकाले यसका विभिन्न पक्ष तथा यसको परिणाम आउन केही समय लाग्नेछ । अहिले कोरोनाविरुद्धको भ्याक्सिनको दुई डोज वा बुस्टर डोज दिइएको अवस्था छ । यसले कति समयसम्म इम्युनिटी दह्रो राख्छ वा कोरोनाको नयाँ लहर आउँछ-आउँदैन जस्ता कुरामा धेरै कुरा निर्भर गर्छ । यदि कोरोना संसारबाट पूरै हटेन बेला-बेला यसले मानिसलाई संक्रमित गरिरह्यो भने प्रत्येक वर्ष भ्याक्सिन लगाउनुपर्ने हुनसक्छ । तत्काल यो विषयमा केही भन्न सकिने अवस्था छैन भने यस विषयमा विज्ञहरुबीच कुराकानी पनि भएको छैन । सबै पर्ख र हेरको अवस्थामा छन् ।
जानकारहरुका अनुसार बुस्टर डोज लगाउन थालिएपछि कोरोना निकै नियन्त्रित देखिएको छ । हुनत बुस्टर डोजपछि पनि संक्रमण नभएको वा नयाँ लहर नआएको होइन । यद्यपि पछिल्लो समय मृत्युदर निकै नियन्त्रणमा रह्यो । कोरोना भ्याक्सिनका बारेमा के भनिँदै छ भने यसले संक्रमण रोक्ने काम गर्दैन । यद्यपि यसले संक्रमणको प्रभावलाई भने निकै हल्का बनाइदिएको छ । यसले बिरामीलाई गम्भीर संक्रमणको स्थितिमा पुग्न दिँदैन । परिणामस्वरूप बिमारीको मृत्युमा समेत कमी आउँछ ।
बाल्यकालमै कोरोनाको भ्याक्सिन लगाउने कुरा बालबालिकाहरुमा चलिरहेको खोपको प्रयोगको सफलता पछि मात्र भन्न सकिने कुरा हो । तर त्यसको सम्भावना छैन भन्ने पनि होइन । यता वयस्कहरुको खोपमा बुस्टर डोजपछि उमेर समूह, दीर्घ रोग तथा जोखिमपूर्ण कार्य क्षेत्रका आधारमा विकसित देशहरुमा चौथो र पाँचौं खोप प्राथमिकताका आधारमा लगाउने क्रम चालु भइसकेको छ । तापनि पनि के कुरा निर्क्योल भइसकेको छैन भने कोरोनाको खोप कहिलेसम्म र कति मात्रा लगाइरहनुपर्ने हो ? यसको जवाफ विकसित भएर आउने परिस्थितिमा निर्भर गर्छ । यस विषयमा अहिले केही भनी हाल्नु हतार मात्र हुनेछ ।
प्रतिक्रिया