म्याग्दी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम दिने

काठमाडौं । तनहुँको म्याग्दी गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो ।
गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । गत दशैँदेखि स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताइन् । त्यसअगाडि पनि गाउँपालिकाले पोषण भत्ता वितरण गरिसकेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षदेखि अध्यक्षसँग सुत्केरी कार्यक्रम सुरु गरेको हो । मातृ शिशु मृत्युदर कम गराउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रानाले बताइन् । उनका अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ ।
संस्थागत सुत्केरी बढावा गर्न कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको जनाएको छ । म्याग्दी गाउँपालिका बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा नपाइने गाउँपालिकाले जनाएको छ । अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत १७९ जनालाई प्रोत्साहन रकम वितरण गरिएको छ ।
प्रतिक्रिया