मंगलबार, असार १७, २०८२

एमसीसी फेल भए राजनीति गर्दिनँ : प्रचण्ड

नेपालखोज २०७८ फागुन २९ गते १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताएका छन् । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि हुने छलफलमा आफ्नो निर्णय र प्रस्ताव फेल भएमा आफूले राजीनामा दिने बताए ।

चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनले दावी गरे ।एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने उनले घोषणा समेत गरे । प्रचण्डले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ । प्रचण्डले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनिनुको तर्क नै नरहेको बताए । सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।

एमसीसी पारित भएपछि तत्कालीन समाधान निस्केको बताए । उनले थपे, ‘यदि यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने यो आन्दोलनको विषय हुन सक्छ ।’

यसले समस्याको मुलभूत समाधान भए पनि पार्टीमा एकमत भइनसकेको प्रचण्डले स्वीकार गरे । उनले भने, ‘चुनावसम्म यो विषयलाई अपिलमार्फत एउटै भाषा बनाउने र चुनावपछि फोरम चलाएर छलफल गर्ने सहमति भएको छ । माओवादी पार्टी फुट्छ कि भन्ने चितनलाई धैर्यतापूर्वक विवेकसम्मतरुपमा समाधान गरेका छौं ।’

प्रतिक्रिया