बिहीबार, असार १९, २०८२

चैत २१ मा नारायणहिटी कब्जा गर्ने शाही युवाको चेतावनी

नेपालखोज २०७८ फागुन २९ गते १७:०३

काठमाडौं । शाही यूवा शक्ति नेपालले ११ औं स्थापना दिवसको अवसरमा चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा विशाल र्‍याली निकालेर नारायणहिटी कब्जामा लिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर नारायणहिटी कब्जामा लिने चेतावनी दिएको हो ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा अन्तिम लडाईँ लड्न चैत २१ गते सडकमा आउन आम नेपाली जनतामा आग्रह गरे । उनले फेसबुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने जनता सडकमा आउँनुपर्ने बताए । खड्काले भने, ‘काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोध सभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्नेछौं ।’

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले विगत दश वर्षदेखि सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका थिए । राजनीतिक दलका नेताहरुलाई ‘छोटे राजा’ को संज्ञा दिँदै नेताहरुले देश बेचेर खाएको आरोप लगाउँदै उनले पूर्व राजा ज्ञानेन्द्र शाहालाई पुनः गद्दीमा बसाल्ने दाबी गरे । उनले देशका ४० जिल्लामा आपूुहरुले संगठन विस्तार गरिसकेको जानकारी दिए ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार बस्नेतले आफूहरुले दश वर्ष पहिला पहिलो पटक गणतन्त्र विरोधी अभियान सुरु गरेको स्मरण गराउँदै राजतन्त्र फालेकोमा नेपाली जनता पछुताएको बताए । एमसीसीको नाममा सरकारले युरेनियम बेच्न लागेको आरोप लगाए ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य हरिराम गौतमले देशमा रहेका विकृतिलाई जनतामाझ ल्याएर शाही यूवा शक्तिले राजसंस्थालाई पुनस्थापना गर्ने दाबी गरे । आगामी दिनमा अझै सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्दता व्यक्त गर्दै उनले भने, ‘विदेशमा बेचीएका चेलीहरुलाई नेपाल फिर्ता ल्याएर नेपालमै पुनस्थापना गर्ने काममा अब हामी लाग्नेछौं ।’

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य राजकुमार गिरीले सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको बताउँदै सरकार चलाउने नेताहरु विदेशीको गुलाम भएको आरोप लगाए । उनले नेपाली जनता अबका दिनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दिन आएको भन्दै शाही यूवा शक्ति नेपालको अभियानमा जोडिनको आग्रह गरेका थिए । उनले भने, ‘पुर्व राजा ज्ञानेन्द्र शाहालाई श्रीपेच लगाएर हामीले छिटै नारायणहिटीमा फर्काउने हो यसमा नेपाली जनताको सहयोग चाहिन्छ ।’

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य कविन्द्र देउजाले विदेशी दलालहरुले देशमा धर्मनिरपेक्षा लागु गरेको आरोप लगाउँदै हिन्दुराष्ट्र नेपाल र नेपाली जनताको हितमा रहेको बताए ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले आफुहरुले सडक संघर्षको माध्यमबाटै राज संस्था फर्काउने उद्देश्य लिएको भएपनि नेपाली जनताबाट साथ नपाएको गुनासो गरे । साथै, शाही यूवा शक्ति नेपाल र राप्रपा बीच एकताका लागि वार्ता भइरहेको समेत जानकारी दिए । ‘नेपाली जनता सडकमा आउन नचाहेको जस्तो देखेर हामी भोटबाट केहि हुन्छ की भनेर वार्तामा लागिरहेका छौं,’ उनले भने । उनले चैत २१ गतेको कार्यक्रममा उपस्थीत हुन सबैमा आग्रह गरे ।

कार्यक्रमको संचालन शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गानाले गरेका थिए । ढुङ्गानाले शाही यूवा शक्ति नेपालको ११औं स्थापना दिवसको अवसरमा चैत २१ गते रत्नपार्कमा सहभागी हुन आग्रह गरे । २०६८ सालमा स्थापना भएको संस्थाले अहिलेसम्म बिभिन्न संघर्ष गरिरहेको स्मरण गर्दै उनले भने, ‘एमसीसीको विरुद्धमा पहिलो पटक आवाज उठाउने संस्था पनि यहि हो ।’

उनले नेपाली नागरिकले गणतन्त्रका कारण सुखको स्वास फेर्न नपाएको भन्दै राजसंस्थाको पुःनस्थापना हुनुपर्ने औल्याए । उनले आफूहरुले पृथक संघर्षका कार्यक्रम गरिहेको भन्दै नेपाली जनतालाई शक्तिको रुपमा उजागर भएर सडकमा आउन आह्वान गरे ।

प्रतिक्रिया