सहुलियतमा औषधिको व्यवस्था गर्न काठमाडौंमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३० ले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ले आज स्थापना गरेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरे ।
ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताए । आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उनले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधि समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए ।

यस केन्द्रले वडाबासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्न नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था गर्ने उनले जानकारी दिए । यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्नेमा उनले जोड दिए । उनले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गरे । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ ।

वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ ।
प्रतिक्रिया