सोमबार, असार ९, २०८२

विश्व उपभोक्ता अधिकार दिवस : ढक-तराजुबाटै ठगिन्छन् उपभोक्ता

नेपालखोज २०७८ चैत १ गते १३:५५

काठमाडौं । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस ।‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसंघकोे साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता सम्बन्धी कानुन जारी गरेका हुन् । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन गर्याे कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौँ ।

पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ । दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद-बिक्री हुने भएपनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको छ । गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरेपनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन् ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया