बिहीबार, जेठ २, २०८२

रूसी टीभी च्यानलको लाइभमा युद्धविरोधी प्रदर्शन

नेपालखोज २०७८ चैत १ गते १४:४१

मस्को । रूसको सरकारी नियन्त्रण रहेको च्यानल वनमा सोमबार साँझको समाचार प्रशारणका क्रममा एक महिला अचानक समाचार पढिरहेकी ‘न्युज रिडर’को पछाडि देखापरिन् । ती महिलाको हातमा एउटा ब्यानर थियो जसमा लेखिएको थियो, ‘युद्ध हुँदैन, युद्ध रोक । दुष्प्रचारमा विश्वास नगर्नुहोस्, यिनीहरु झुट बोलिरहेका छन् ।’

ती महिला उक्त टेलिभिजन च्यानलकै पत्रकार भएको र उनको नाम मरिना अवस्यानिकोभा भएको बताइएको छ । भनिन्छ अहिले उनी प्रहरी हिरासतमा छिन् । युद्ध सुरु भएपछि रूसको समाचार माध्यमहरुमा सरकारी नियन्त्रण थप कडा पारिएको छ ताकि रूसी सरकारको इच्छा बेगरका समाचार सार्वजनिक नहुन् ।

‘म लज्जित छु’
अवस्यानिकोभा जब टीभी स्क्रिनमा देखापरिन् तब उनले ‘युद्ध हुँदैन भनौं’ तथा ‘युद्ध रोकौं’ जस्ता नारा पनि लगाएकी थिइन् । त्यस लागत टीभीको लाइभ प्रसारण रोकेर पहिलेदेखि नै रेकर्ड गरेर राखिएको एउटा रिपोर्ट प्रशारण गरियो । यसअघि अवस्यानिकोभाले एउटा भिडियोसमेत रेकर्ड गराएकी थिइन् जसमा उनले युक्रेनमा रुसले गरेको कारबाहीलाई अपराध बताइएको थियो । उक्त भिडियोमा उनले भनेकी थिइन् ‘क्रेमलिनको प्रोपगन्डाका लागि काम गर्नुपर्दा म लज्जित महसुस गरिरहेकी छु ।’

अवस्यानिकोभाले भनेकी छन्, ‘म लज्जित छु कि मैले आफैं टीभी स्क्रिनमा झुट बोले । उनले आफ्नो भिडियोमा रूसी नागरिकहरुलाई युद्धविरोधी प्रदर्शन गर्न अपिलसमेत गरेकी छिन् । उनले भनिन्, ‘रूसी नागरिकहरुले नै यो पागलपन रोक्न सक्छन् ।’
अवस्यानिकोभाको परिचय उजागर भएपछि सामाजिक सन्जालमा टिप्पणीको ओइरो लागेको छ । युक्रेनी, रूसी तथा अंग्रेजीमा गरिने त्यस्ता टिप्पणीमा मानिसहरुले उनलाई धन्यवाद दिइरहेका छन् ।

समाचार माध्यममा नियन्त्रण
रूसमा लामो समयदेखि समाचारमाध्यमहरुमा सरकारी नियन्त्रण छ । हालै नयाँ कानुन लागु गरी उक्त नियन्त्रणलाई यति कडा पारिएको छ कि कैंयन् अन्तर्राष्ट्रिय समाचार माध्यमले आफ्नो सेवा नै बन्द गरेका छन् । नयाँ रूसी कानुनमा युक्रेनमाथिको सैन्य हमलालाई आक्रमण भन्नु तथा ‘फर्जी’ खबर प्रसारित गर्नु दण्डनीय अपराध भएको कुरा उल्लेख छ । सरकारले रूसी हमलालाई विशेष सैन्य अभियान भनेको र मिडियालाई पनि त्यसै भन्न आदेश दिएको छ । यदि यसो नगरे १५ वर्षसम्मको कैद सजाय हुनसक्छ । यही नयाँ कानुनका कारण रुसका स्थानीय मिडियाहरुले समेत कामकाज बन्द गरेका छन् जसमा एको अफ मस्को तथा टीभी रेनजस्ता संस्था सहभागी छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया