बैंकरहरुको एकस्वर : ‘नडुब्ने सुनिश्चितता हुनुपर्छ, कृषिमा जतिपनि कर्जा लगानी गर्न तयार छौं’

चितवन । नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे । चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो ।
मेलालाई आरएन्डडी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् । मेलाको उद्घाटन गर्दै गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजेपनि त्यसो हुन नसकेको बताए । अधिकारीले राज्यको नीति कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन खोजिए पनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमश घट्दो गएको स्वीकारेका हुन् ।

अधिकारीले कृषिको लागि आत्मविश्वास मात्रै भएर नहुने भन्दै जमिन, सिचाई, बिउ, मल, विषादी र प्रविधिकको व्यवस्था पनि हुनुपर्ने बताए । कृषि क्षेत्रको विकासको लागि राज्यबाट चालिएका कदमहरु कमी भने नरहेको उनले बताए । यद्यपि कृषि क्षेत्रमा केही परिवर्तन भने भएको उनको तर्क छ ।
उनले कृषि क्षेत्रमा कर्जा विस्तार हुँदै जाँदा कतिपय ठाउँमा गलत प्रयोग भएको छ कि भन्ने गुनासो आउने गरेको भन्दै तस्तो घटना सानो संख्यामा मात्रै रहेको हुनसक्ने बताए । कृषि क्षेत्रमा रातारात परिवर्तन नभए पनि विस्तारै परिवर्तन हुने बाटोमा रहको उनले बताए । सरकारले कृषिको दीर्घकालीन २० वर्षे रणनीतिलाई कार्यान्वयन गरिरहेको भन्दै भोलिका दिनमा कृषिमा धेरै हदसम्म आत्मनिर्भर हुने लक्ष्य रहेको उनले बताए ।
कृषिको लागि कर्जा र ब्याज एउटा ‘कम्पोनेन्ट’ मात्रै रहेको भन्दै कृषिको विकासको लागि अन्य धेरै ‘चेन’ रहेको बताए । मुलुक संघीय संरचनामा गएपछि सबै निकायकाले कुनै न कुनै रुपमा कृषिलाई प्राथमीतामा राखेको उनले बताए । कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ ।
धितोको अनिवार्यता, झण्झटिलो प्रक्रिया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले अहिले पनि किसानहरुले धितोको कारण कृषि कर्जाबाट हामी बञ्चित भयौं भन्ने गुनासो गर्ने गरेको बताए ।
नबिल बैंकका अध्यक्षसमेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मूल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।
प्रतिक्रिया