बागलुङको अमरभूमि-अर्गल खण्ड योजना अलपत्र

बागलुङ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ ।
ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक-अमरभूमि-अर्गल खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताए । ‘सडक कालोपत्रका लागि छनोटमा परे पनि अरु कामले गति लिन सकेन, केही सुरसार देखिन्न,’ उनले भने, ‘सरकारले चासो नलिएपछि योजना ओझेलमा परेको छ ।’
सरकारले गरेको बजेट कटौतीको मारमा उक्त सडक पनि परेको हुनसक्ने अध्यक्ष घर्तीको बुझाइ छ । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालय, गण्डकीका प्रमुख कुमार थापाले योजना सुसुप्त अवस्थामा रहेको बताए ।
‘थुप्रै सडकको बजेट कटौती भएको छ, यो योजना पनि प्राथमिकता नपरेका कारण कुनै काम अघि बढ्न सकेको छैन,’ उनले भने । त्यस प्रकृतिका सडक योजनाको कार्यान्वयन संघ र प्रदेश सरकारले गर्ने भन्नेमा पनि अन्योल छ ।
कार्यालय प्रमुख थापाले आफूले पनि प्रदेश सरकारलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको थाहा पाए पनि विस्तृतमा जानकारी नभएको बताए । उनले बजेटको सुनिश्चितता भए सडक कालोपत्रको प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।
उनीसहित भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर र गाउँपालिकाका प्रतिनिधि रहेको छनोट समितिले २० किमी दूरीको उक्त सडकलाई कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर छिटै कालोपत्र थालिने जनाइए पनि योजना नै अलपत्र पर्नु दुःखद रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउँछन् । वर्षौंदेखिको कच्ची सडक कालोपत्र हुने खबरले त्यसबेला स्थानीय बासिन्दामा खुसी छाएको थियो ।
योजनाको टुंगो नै नलागेपछि अहिले फेरि गाउँलेले गुनासो गर्न थालेका छन् । गाउँपालिकाले त्यस सडकलाई ‘सहिद मार्ग’ का रुपमासमेत नामकरण गरेको छ । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका ५, रिजालचोकदेखि उत्तर-पश्चिम हुँदै सो सडक ताराखोलाको केन्द्र अर्गलमा जोडिन्छ । उक्त खण्ड कालोपत्रका लागि झन्डै ७० करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।
योजना कार्यान्वयनमा आए संघीय सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको छ । मार्ग खुलेको वर्षौं बित्दासमेत कालोपत्र हुन सकेको छैन । गाउँपालिकाले आफ्नै बजेटबाट मर्मत तथा सुधार गर्दै आएको छ । वर्षायाममा त सडक जीर्ण नै बन्छ । उक्त सडकमा जोखिम उठाएर यात्रा गर्नुपर्ने स्थिति छ ।
पक्की सडकसँग जोडिएमा यात्रुको आवतजावत सहज हुनाका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिएको छ । कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला जिल्लामै धनी छ । अहिले पनि त्यहाँका मौलिक उत्पादन बाहिर निर्यात भइरहेका छन् । स्तरहीन सडकका कारण अहिले ताराखोलादेखि सदरमुकाम आउन घण्टौंको यात्रा तय गर्नुपर्छ । सडक कालोपत्र भए लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ । -रासस
प्रतिक्रिया