मंगलबार, वैशाख १६, २०८२

मिर्गौला प्रत्यारोण सफल भएपछि प्रधानमन्‍त्री भेट्न अस्पताल पुगे माधव नेपाल

नेपालखोज २०७६ फागुन २२ गते ७:२१

काठमाडौं । कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि नेता नेपालले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार साँझ ७:३० बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेर नेपालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

त्यस्तै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पाैडेल, सुवास नेम्वाङलगायत नेताहरुले पनि ओलीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण भएको हो । ओलीलाई नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्।

शिक्षण अस्पतालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया