आइतबार, असार १५, २०८२

सरकारले भन्यो- कोरोनाविरुद्धको खोपमा सफलता हात पार्‍यौं

४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप लगाइयाे

नेपालखोज २०७९ वैशाख ४ गते १३:२८

काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रर्वकता डा. समीरकुमार अधिकारीले बताएका छन् ।

उनले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेपछि चैत मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको र त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताउँदै उनले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

सह प्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले हालसम्म सरकारले कोरोनाबिरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गरे ।

सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको र कोरोनाबिरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरु लगेर खोप अभियान सञ्चालन गरिरहेको समेत बताए ।

नेपालमा रहेका कोरोनाबिरुद्धका केही खोपहरुको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको र कतिपय खोपहरु एकै प्यकमा ६ वा १० वटा आउने भएको हुँदा खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

तर खोप लगाउने ब्यक्ती नहुँदा १/२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको स्पस्ट पारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् ।

१ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएको र लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् । लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप प्रयोग गरिएको जनाइएको छ।

प्रतिक्रिया