बिहीबार, जेठ २, २०८२

यी खानेकुरा कदापि नखानुस्, लाग्ला है क्यान्सर !

डा. हेमराज कोइराला २०७९ वैशाख ११ गते २०:१९

क्यान्सर भन्नेबित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्यान्सर लागेकाे थाह हुनेबित्तिकै जो कोही पनि व्यक्ति छाङ्गाबाट खसेजस्तो हुन्छ । डर र त्रासले उसलाई सताउँछ । संसारमा प्रत्यक वर्ष यो रोगका कारणले ९६ लाख मानिसहरू मारिने गरेका छन् जसमध्ये ७० प्रतिशत मान्छेहरू निम्न र मध्यम आम्दानी भएका देशहरूका बासिन्दा हुन् ।

आज हरेक छैटौं व्याक्तिको मृत्यु क्यान्सरको कारणले हुने गरेको छ । यसरी संसारमा यति धेरै मानिसहरू मार्ने प्रमुख हत्याराको ५० प्रतिशत कारणको भने हाम्रो आनिबानी र खानपानसँग छ । हामीले जानी–जानी वा नजानीकन खाइरहेको खानेकुराहरूले त कतै क्यानसर लागिरहेको त छैन ? आउनुहोस् हामी पनि जानै यी क्यान्सर कारक केही खानेकुराहरूलाई ।

सेकुवा : जनावरको फलमासुलाई आगोमा सेकाए वा घाममा सुकाएर पछिसम्म खानमिल्ने गरी संरक्षण गरेर राखिएको खानेकुरालाई सेकुवा भनिन्छ । सेकुवा मुख्य रूपमा रातो मासुबाट बनाइन्छ । रातो मासुलाई सेकुवा बनाउने क्रममा पोल्दा, तेलमा तारदा, घाममा सुकाउँदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यानसर कारक तत्वहरू (कार्सिनोजिन) उत्पादन हुने हुँदा सेकुवा स्वास्थ्यका लागि राम्रो खानेकुरा हैन ।

यसै गरी धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारहरू क्यान्सर रोगका प्रमूख कारणहरूमा पर्छन् । यसै गरी सेकुवा बनाउने क्रममा मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्छ । मासुलाई आगोको ज्वाला र धुवाको मुस्लोमा सिधै सेकाउदा यसभित्रको गुलियो पदार्थ र प्रोटिन उच्चतापक्रले गर्दा परिवर्तित भई एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । एक्रिल्यामाइड्स क्यान्सर कारक यौगीक हो ।

हटडग : हामीले मीठो मानिमानी खाने गरेको हटडग प्राय:जसो गाई वा सुँगुरको मासुबाट बनाइन्छ । मासुलाई प्रशोधन गरेर, बनाइएको किमालाई मनमोहक गन्धहरू मिसाएर विशेष किसिमको पाउरोटीभित्र हालेर हटडग बनाइन्छ । यसलाई बेलनाकार टुक्राहरूको रूपमा साग, सलाद, प्याज, सस, मायोनिज, पनिर, सुँगुरको मासु आदिसँग खाने गरिन्छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संघका अनुसार हटडगमा हालिएको प्रशोधित मासुलाई क्यानसर कारक मानेको छ र दैनिक एउटा हटडग खाने व्याक्तिलाई ठूलो आन्द्राको क्यान्सर हुने खतरा ८१ प्रतिशत रहन्छ ।

चिनी हालिएका खानेकुरा : उच्च मात्रामा चिनीको सेवन क्यान्सरको कारण हो । उच्च मात्रामा चिनी हालिएको, रेशा र चोकर निकालिएको कम पौष्टिक मूल्यको प्रशोधित खानेकुराहरूको क्यानसरसँग गहन सम्बन्ध छ । अनुसन्धानहरूले प्रकाशित पारेअनुरूप रक्त ग्लुकोजलाई ह्वात्तै बढाउने खालका खानेकुराहरूले पेट, ठूलो आन्द्रा र स्तनलगायत अन्य धेरै प्रकारका क्यान्सरहरूको जोखिम बढाउँछ । चिनी हालिएको खानेकुरा खाइरँहदा रगतमा ग्लुकोज र इन्सुलिन दुवै बढ्छ । उच्च रक्त इन्सुलिनले कोषहरूको अनियन्त्रित वृद्धिलाई सहायता गर्नुको साथै इस्लामेसनलाई समेत बढाउँछ ।

तेलमा तारिएका खानेकुरा : खानेकुराहरूमा पोषक तत्त्वहरू मौजुद हुन्छन् । यी पोषक तत्त्वहरू सूक्ष्म पोषकतत्त्व र स्थूल पोषक तत्त्व गरेर दुई प्रकारका छन् । खानेकुरालाई तेलमा तार्दा तेलको उच्च तापले खानामा विद्यमान धेरै पौष्टिक तत्त्वहरू नष्ट गरिदिन्छ । हामीले खाने वनस्पति तेलहरूको क्वाथनाङ्क (उम्लिने) २५० डिग्री सेल्सियस देखि ३०० डिग्री सेल्सियसबीचको छ भने अझ धेरै बेरसम्म तेलमा तार्दा यो ताप अझै बढ्दछ फलत: उच्च तापक्रमका कारण खानेकुराहरूका धेरै पौष्टिक तत्त्वहरू नष्ट भएर जान्छन् । यसो हुँदा खानेकुरा कम पौष्टिक मूल्यका वा मूल्यविहीन हुन पुग्दछन् । यसका अलावा उच्च तापका कारणले हेटेरो साइक्लिन अमाइन र एडभान्स ग्लाइकेसन इन्ड प्रोडक्टजस्ता रसायनहरू निस्कने गर्छन् । यी यौगिकहरूको उत्पादन धेरै मात्रामा भयो भने शरीरमा इस्लामेसन र क्यान्सरको जोखिम उच्च हुन्छ ।

डुनोट : प्रशोधित गहुँको पीठो (मैदा) लाई तेल वा घिउमा तारेर डुनोट बनाइन्छ । यसमा चिनी, सोडा, सुगन्धकारक तत्त्वहरू कृतिम रङलगायतका चिजहरू हाल्ने गरिन्छ । उच्च तापमा पकाइएको हुनाले डुनोटमा धरै इस्लामेटरी यमैगीकहरू छन् । यसमा अलावा डुनोटको पौष्टिक मूल्य पनि अत्यन्त न्यून हुन्छ । रेशा र चोकरको मात्रा त हुँदै हुँदैन । यसर्थ डुनोट खाँदा क्यान्सरको उच्च जोखिम रहन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया