‘लू’बाट बच्ने उपाय !

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा वा ‘लु’बाट जोगिने उपाय अपनाउन सबैमा अनुरोध गरेको छ । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिने र यसले विभिन्न समस्या निम्त्याउने भन्दै स्वास्थ्य मन्त्रालयले ‘लु’बाट जोगिने उपाय अपनाउन सबैमा अनुरोध गरेको हाे । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तातो हावा तथा ‘लु’ लाग्दाका असरहरू
लगातार शरीरबाट पसिना आई नुनको मात्रा कम हुन पुगी विभिन्न अंगमा असर पु¥याउने, डिहाइड्रेसन हुने, मुटुको चाल बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, छाला सुक्खा र रातो हुनेजस्ता समस्या पनि ‘लु’का लक्षण हुन् । यस्ता असरहरू देखिएका बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुर्याउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
‘लु’बाट बच्ने उपाय
दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने गर्नुपर्ने मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै ‘लु’बाट बच्न मदिरा सेवन नगर्ने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने,
क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, साथै, बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।
प्रतिक्रिया