मंगलबार, वैशाख १६, २०८२

हेलिकप्टर उडान दैनिक ७० प्रतिशतले कटौती

नेपालखोज २०७६ फागुन २७ गते ६:४०

काठमाडौँ । कोरोनाको प्रभावका कारण पर्यटन बजार सुस्ताउँदा उद्धारलगायत पर्यटकीय गतिविधिमा अत्याधिक प्रयोग हुने हेलिकप्टर उडान ७० प्रतिशतले घटेको छ । आर्थिक रूपमा व्यवसायीहरूले दैनिक १ करोड २५ लाख रुपैयाँले कारोबारमा कमी आइरहेको बताएका छन्।

आन्तरिक उडानमा रहेका निजी हेलिकप्टर, वायुसेवा संचालकहरूको संगठन आवनका प्रवक्ता योगराज कँडेलले गत वर्षको यही सिजन ९मार्च० महिनाको दाजोमा यसपटक हेलिकप्टर चार्टर उडान ७० प्रतिशतले घटेका बताए । उनका अनुसार यो दर अझै बढ्ने क्रममा छ ।

‘खास पर्यटकीय सिजन सुरु भइसकेको छैन,’ हेलि एभरेष्ट एयरका सीईओ समेत रहेका कँडेलले भने, ‘अहिले सिजन सुरु नहुँदै हेलिकप्टर जति घन्टा उड्‍नुपर्ने हो त्यती उड्‍न पाएका छैनन् ।’

नेपालमा अप्रिल (चैत–वैशाख) मा उच्च हिमाली भेगमा पर्यटक पदयात्रा तथा हिमाल आरोहण जाने मुख्य सिजन हो । यो सिजनमा हेलिकप्टर चार्टर अत्याधिक हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, नेपालमा हाल १० वटा निजी हेलिकप्टर कम्पनी उडानमा छन् । यीसँग ३३ वटा हेलिकप्टर छन् । ‘गत वर्ष हामीले यसैबेला एउटा हेलिकप्टर दिनमा ३ घन्टासम्म उडायौं,’ कँडेलले भने, ‘अहिले दिनमा १ घन्टा उडाउन पनि मुस्किल छ, त्यसमा पनि ३० मध्ये दिनमा १० वटा हेलिकप्टरमात्रैले काम पाएका छन् ।’

हेलिकप्टर कम्पनीले प्रतिघन्टा कम्तीमा डेढ लाख रुपैयाँ भाडा लिने गरेका छन् । कँडेलले यो दर अनुसार, अहिले दैनिक हेलिकप्टरले चार्टर उडानबाट १५ लाख रुपैयाँ आम्दानी गरीरहेको बताए जुन गत वर्षको दाजोमा १ करोड २५ लाख रुपैयाँ दैनिक कम हो ।

सिमिकोट मानसरोवर तीर्थयात्राको सिजनमा नेपाली हेलिकप्टर बिहान ६ बजेदेखी बेलुकी ६ बजेसम्म उडानमा सक्रिय रहन्थे । नेपालको नागरिक उड्‍डयन नियममा एउटा पाइलटले ८ घन्टाभन्दा बढी हेलिकप्टर उडाउन निषेध गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया