मंगलबार, वैशाख १८, २०८१

हृदयाघातका कारणहरु !

डा. हेमराज कोइराला २०७९ जेठ १० गते १९:१७

अप्रत्यासित रुपमा अपर्झट हुने तत्काल आपतकालिन उपचार हुन नसके ज्यानैसमेत जानसक्ने र बाँची हालेपनि जीवनभर परावलम्बि र पराश्रीत हुनु पर्ने तर जोखिम र कारकहरुको उचित निदान गरि हटाउन सके उल्ट्याउन पनि सकिने यो रोगकै कारणले संसारभर १ करोड ७७ लाखमानिसहरु प्रत्येक वर्ष मरिन्छन् र मर्नेहरुमा अब पश्चिमेली भन्दा पूर्वेलीहरुकै संख्या ज्यादा छ । जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैलि परिवर्तन गरि अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले, फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्वहरुसँग अनभिज्ञ दक्षिण एशियाका सहरी जनसमुदाएले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।

हृदयघातका कारणहरू दुई प्रकारका छन्। उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने ।

उल्ट्याउन नसकिने कारणहरुः
१) उमेरः ३० वर्ष उमेर पार गरेछि धमनीहरुमा सागुरिने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ र ४० वर्ष कटेपछि तपाईं हामी सबैलाई जोखिम हुन्छ।
२) पुरुष लैङ्गिकताः हृदयघातका ८० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्ट्रोजान नामक हारमोनले र नारी व्यक्तित्वले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ तर महिनावारी सुकेका पाठेघर तथा डिम्बासयका अपरेसन गरेका गर्भनिरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ ।
३) पारिवारिक इतिहासः हृदयघात अनुवंशिक रोग पनि हो । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउने भएकाले हृदयरोग लाग्दछ ।

उल्ट्याउन सकिने कारणहरुः
१) उच्च रक्त संयुक्त कोलेस्टेरोलः कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । शरिरलाई चाहिने तत्व भएता पनि यसको रक्त मात्र सामान्य (२०० मि.ग्रा./डे.ली ) भन्दा ज्यादा भएमा धमनी सागु¥याउने आथेरोस्क्लेरोसिस् भन्ने रोग लाग्दछ । माछा, मासु, अण्डा, दुध, दहि, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पति जन्य चिल्लोमा पाइदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनु पर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडीएल, भीएलडीएल र एचडीएल प्रोटिन भनिन्छ । प्रोटिन युक्त कोलेस्टेरोल वा फ्रि कोलेस्टेरोल रगतमा घुम्दा उपापचयी क्रियाबाट प्राप्त फ्री रेडिकलहरुसँग मिलेर नशालाई घात गर्न सक्ने पदार्थ बनी चिपचिप भइ रक्त नलीका भिताहरुमा टासिन पुग्छ र टासिएको ठाउँमा प्रदाहतमक क्रिया सुरु भइ उक्त स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक नशा सागु¥याउने डल्लो बन्छ र ह्दयरोग लाग्दछ ।

२) उच्चरक्त एलडीएल कोलेस्टेरोलः यो कोलेस्ट्रोलले बोक्ने लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडीएलको मात्रा बढ्छ । ज्यादा भएको एलडीएल चाँडै अक्सिडाइज हुनगई प्लाक बनाउँछ । प्लाक बनाउनुका अलाबा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराएर नसाहरुलाई टाइट राखि रहन्छ र नशा साघु¥याउछ ।

३) उच्च भीएलडीएल कोलेस्ट्रोल : यो लिपोप्रोटिनलाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भई मुटुरोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ पाचन पश्चात ट्राइग्लिसिराईड फ्याटी एसीड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोशीत हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (हाईड्रोजेनेटेड याट) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा, अन्य तत्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमेन्टेसन पछि ट्रान्सप् फ्याटी एसिड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडको सेवनले एलडीएल र भिएलडीएल बढ्ने र एचडीएल घट्ने भएकाले तेलको अति तथा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारण बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ र मुटुरोग लाग्नबाट बचाउँछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचापः रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवावलाई रक्तचाप भनिन्छ । लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिँदा धमलीहरुको भित्री पत्र (इन्डोथेलियम) क्षति ग्रष्त भई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ ।

८) मधुमेहः मधुमेह हुँदा बढेको ग्लुकोजले स–साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम गरी दिने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपनः भोजनबाट प्राप्त वा शरीरमा आफैँ बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकि तौल बढी बडिमास सुचांक, ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भएको अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र एडिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको कारक मानिन्छ । साथै मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई पनि बढाउने हुदा“ मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

१०) निस्क्रिय जिवन : मुटुरोगले श्रम र ब्यायाम नगरि निस्क्रिय जिवन जिउनेहरुलाई ज्यादा मन पराउँदछ । निस्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायम हुन सक्दैन । व्यायम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन : धुम्रपान नगर्नेलाई भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरुले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गर्न मद्दत गर्दछ । धुम्रपानले पु¥याऊने क्षती ब्यक्तिले लिएको चुरोटको संख्यासंग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि हृदयरोग कारणहरु हुन ।

१२.मानसिक तनावः वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउछ । यसरी सबै जोखिमहरु बढ्दै जादां हृदयरोग लाग्छ ।

१३. खानामा चोकर र रेसा, भिटामिन र एण्टीअक्सीडेण्टहरुको कमीः रेसा र चोक्करयुक्त खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले पनि हृदयरोगबाट बचाऊछ । भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाउछ ।

१४. टायप “ए” ब्यक्तित्व
मुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै मन पराऊछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने सधै हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पुर्वाग्ग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धि, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता व्यक्तित्वहरूले हृदय तथा रक्तनली कमजोर बनाउँछ ।

१५. मदिरापान: रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । रक्सीले कलेजो आन्द्रा भुँडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पु¥याउने हुदाँ त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।
(लेखक नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सदस्य हुनुहुन्छ ।)

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया