सोमबार, वैशाख १५, २०८२

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ७० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ जेठ १० गते १३:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ७० करोड १९ लाख ३६ हजार ६ सय ५५ रुपैयाँबराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षे निक्षेपका रूपमा ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३६ रुपैयाँ ९५ पैसा र कल निक्षेपका रूपमा १३ करोड ९१ लाख ८३ हजार एक सय १८ रुपैयाँ ८९ पैसासमेत गरी उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

निक्षेप लगानीका लागि राष्ट्र बैंकले आज मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूसँग प्रस्ताव माग गरेको छ । यसका लागि यही जेठ १३ गते अपराह्न ५ बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत उल्लेख गरी नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागमा आवेदन दिनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीका लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधान तोकिएका छन् ।

प्रतिक्रिया