नेपालको खुद सेवा आय घाटामा, विदेशमा गर्ने खर्च १ सय ४३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालको खुद सेवा आय झन् घाटामा गएको तथ्यांक सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालको खुद सेवा आयमा ८९ अर्ब ३१ करोड रुपैयाँले घाटा देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको १० महिनामा खुद सेवा आय ५९ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको १० महिनामा भन्दा चालु वर्षको १० महिनामा सेवा आय ३० अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको जनाइएको छ । खुद सेवा अन्तर्गत भ्रमण आय भने बढेको देखिएको छ ।
सेवा खाता अन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च १ सय ४३ प्रतिशत बढेको छ । यो खर्च बढेर ७२ अर्ब ८ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक भएकोछ । नेपालीले विदेशमा यस वर्षको १० महिनामा ७२ अर्ब ८ करोड रुपैयाँ खर्च गरेका छन् भने अघिल्लो वर्षको १० महिनामा २९ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेका थिए ।
यस्तै शिक्षाको लागि मात्रै यो वर्षको १० महिनामा ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ भने गत वर्षको १० महिनामा २२ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो ।
प्रतिक्रिया