आइतबार, असार ८, २०८२

मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका महत्त्वपूर्ण : गोल्छा

वस्तुगत संघका नवनिर्वाचितलाई पदाधिकारीहरूलाई एफएनसीसीआईले बधाई दिँदै भन्यो- आफ्ना क्षेत्रमा क्याप्टेनको भूमिका निर्वाह गर्नुहोस्

नेपालखोज २०७९ असार २ गते १७:३३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा महासंघले बुधबार महासंघ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना ग¥यो । सदस्य वस्तुगत संघका नवनिर्वाचित टिमलाई महासंघले नियमितरूपमा स्वागत एवं बधाई कार्यक्रमको आयोजना गर्दै आएको छ ।

महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बीउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई दिएका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । ‘उद्योगधन्दाको विस्तार, रोजगारी सिर्जना, पुँजी निर्माणमा तपाईंहरूको योगदानलाई महासंघले सधैं उच्च प्राथमिकता दिएको छ,’ अध्यक्ष गोल्छाले भने, ‘महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्ने कार्यमा पनि तपार्इंहरूको सहयोग महासंघले खोजेको छ ।’

आफ्ना सबै सदस्यसँग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउँदै गोल्छाले भने, ‘अब यसले लिएका लक्ष्य पूरा गर्ने कार्यमा तपाईंहरूले आ-आफ्ना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस् तपाईंहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’ साथै उनले नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना पनि दिए ।

स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्तिनै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जनामा महासंघ लागिरहेको स्पष्ट पारे । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए । उपाध्यक्षद्वयले भने, ‘तपाईंहरूले आफ्ना क्षेत्रमा क्याप्टेनको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्न र आफ्नो कार्यकालमा आफना क्षेत्रमा उल्लेख्य कार्य गर्न सफल हुनुहोस् ।’

नवनिर्वाचित अध्यक्षहरूका तर्फबाट मन्तव्य राख्ने क्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि सार्क हस्तकला विकास केन्द्र सञ्चालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरिसकेको हुँदा सोको कार्यान्वयनमा एफएनसीसीआईबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले लगानी र रोजगारीका हिसाबले उल्लेख्य योगदान दिएको इँटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गरे । ‘इँटा उद्योगलाई बिमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन,’ उनले भने, ‘अहिले इँटा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ ।’ भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले जनशक्ति विकासमा महासंघको सहयोग खोजेको उनले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भने, ‘यस क्षेत्रका विविध समस्या छन्, तालिम प्राप्त जनशक्ति छैनन्, यसको गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्रान्डिङ लगायतमा ठूलो समस्या छ ।’ यसका लागि सहयोग गर्न आग्रहसमेत गरे । अध्यक्ष भट्टराईले स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा नेपाली अलैंचीका लागि छुट्टै स्टलको व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापाले कोभिडले थिलोथिलो भएको ट्राभल व्यवसायको उत्थानका लागि सहयोग गर्न आग्रह गरे । सम्पदा क्षेत्रमा सार्वजनिक सवारी साधन निषेध गरिनुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै बसपार्कको व्यवस्था हुनुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याबारे नियमित छलफल गरी समाधानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाव उनले राखे ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अन्डामा आत्मनिर्भर भए पनि दाना उत्पादनमा भने अहिले पनि अरू देशकै भर पर्नुपर्ने परिस्थिति रहेको बताए । दानाका लागि आवश्यक मकै तथा भटमासको पिनाका लागि छिमेकी देश भारत तथा अन्य राष्ट्रहरूको भर पर्नुपर्ने परिस्थिति अन्त्य गर्नुपर्ने र त्यसका लागि नेपालमा मकै र भटमास खेती विस्तारमा सरकारको ध्यानाकर्षण गराउन महासंघले सहयोग गर्नुपर्ने सुझाए ।

नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले अर्बौंको लगानी गरी हजारौंलाई रोजागरी दिइरहेको चलचित्र व्यवसायीलाई राज्यले प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा महासंघले सहयोग गर्नुपर्ने बताए । कोभिड महामारीबाट बढी प्रभावित सूचीमा राखिए पनि राज्यले दिनुपर्ने सुविधाबाट वञ्चित गरिएको गुनासो गरे । उनले समग्रमा चलचित्र व्यवसायीहरूलाई परेको पिरमर्कामा सहयोग गर्न महासंघलाई आग्रह गरे ।

नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउ आत्मनिर्भर बनाउने कार्यमा संघले लागे पनि बीउ व्यवसाय ऐन २०४५ का कारण त्यो निकै कठिनाइ भएको बताए । ऐनका कतिपय प्रावधानका कारण व्यवसायीहरू पलायन हुन थालेको बताउँदै संसदमा दर्ता रहेको बीउ-बिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कार्यमा सहयोग गर्न महासंघलाई आग्रह गरे । साथै उनले महासंघलाई नीतिगत विषयमा नियमित छलफल चलाउन पनि आग्रह गरे ।

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुगत परिषद्का उपसभापतिहरू, सदस्यहरू र उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया