मंगलबार, वैशाख १८, २०८१

खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरौं : मन्त्री गहतराज

नेपालखोज २०७९ असार ८ गते १६:३०

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् । ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री गहतराजले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका हुन ।

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री गहतराजले इतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुःखसमेत व्यक्त गरे । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, ‘यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।’ खेलकुदसँग सम्बन्धित फाइल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धिका रुपमा लिने गरिएको जिकिर गर्दै उनले काम गर्न खोज्दा आफु र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढि मुद्धा खेप्नु परेको बताए ।

यद्यपी विभिन्न समस्याकाबिच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री गहतराजले दावी गरे । विश्वको उदाउँदो अर्थतन्त्रका रुपमा रहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको उनको भनाइ थियो ।

अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिका रुपमासमेत विश्वमा खेलकुदलाई लिने गरिएको उल्लेख गर्दै मन्त्री गहतराजले नेपालले खेल कुटनीति मार्फत अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताए । ‘हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘प्रतियोगिताको समयमा मात्र खेलाडी खोज्ने अरुबेला मतलव नगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।’

मन्त्री गहतराजले ओलम्पिक तथा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्म नेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर, जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन् । नेपालबाट अहिलेसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा ४ गरी कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीता जनाइसकेका छन । जसमध्ये ९ ओलम्पियनको निधन भइसकेको छ ।

कार्यक्रममा मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, महानायक राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया