सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

पर्सा । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि सङ्क्रमित भेटिन थालेका हुन् । गत चैतको अन्तिम सातादेखि सङ्क्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि संक्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।
सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार ६ जना संक्रमित भेटिएका छन् । उनले ३४ जनाको स्वाबलाई परीक्षण गर्दा ६ जना महिलामा संक्रमण पुष्टि भएको बताए ।
ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शंका लागि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए ।
नारायणी अस्पतालमा हाल प्रत्येक मंगलबार शंका लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो सङ्ख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।-रासस
प्रतिक्रिया