श्रावण कृष्ण चतुदर्शीका दिन घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामंगल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरुप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताछन् । स्थान एवं कूल परम्परा अनुसार कतै भने गठामंगललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।
यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर-आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रुपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्त्वपूर्ण पर्वका रुपमा मान्छन् ।
प्रतिक्रिया