मंगलबार, वैशाख १६, २०८२

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध

नेपालखोज २०७९ साउन १६ गते २१:१९

भक्तपुर । साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो ।

डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्ववडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताए । साँझ मन्दिरमा आरतीमा सहभागी हुनसमेत दर्शनार्थीको घुइँचो रहेको भन्दै उहाँले आज मात्रै दिनभरिमा २० हजारभन्दा बढी भक्तजनले डोलेश्वर महादेवको दर्शन गरेको बताउनुभयो । दर्शनार्थीको घुइँचो लागेपछि भक्तपुरको जगातिबाट डोलेश्वर महादेव मन्दिर जाने दुईवटा बाटो अवरुद्ध भएको थियो ।

सवारीसाधनको चाप बढेपछि सडक जाम भएको थियो भने मन्दिरमा दर्शनलाई सहज बनाउन तथा सडक खुलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको थियो । त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो ।

मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थापाले जानकारी दिनुभयोे । डोलेश्वर हँुदै आशापुरी जान र नंखेल काँक्राबारी हुँदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । यता भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो ।

भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको थियो । भक्तपुर काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका थिए ।

त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको थियो भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको थियो । रासस

प्रतिक्रिया