लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज (बुधबार) चालु आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिमा उल्लेख भएअनुसारको उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
परिपत्रअनुसार सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त सर्तहरूको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्न सक्नेछन् ।
यसैगरी इजाजतपत्र प्राप्त संस्था आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे तोकिएका सुविधाका अतिरिक्त देहायबमोजिमका थप सहुलियत प्रदान गर्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको एक प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरे २० प्रतिशतमाथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मका लागि छुट प्रदान गरिने परिपत्रमा उल्लेख छ ।
यसअघि इजाजतपत्रप्राप्त संस्था आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस्तो छुट दिने व्यवस्था रहेको थियो । सोअनुसार २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरे २० प्रतिशतमाथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्तसम्मका लागि छुट प्रदान गर्ने व्यवस्था रहेको थियो ।
प्रतिक्रिया