क्वाँटी : विशेष आहार !

क्वाँटी खाने,नेवारी हो, प्रचलन तर पनि,सब निम्ति लाग्दछ पोषिलो ।
क्वाँटी मीठो,मान्छन् सारा, छ विविध दलहन, यसमा बनाउँछ जोशिलो ।।
उम्रेको त्यो,क्वाँटी खाँदा, त्वता तनभरि सब, हुनसक्छ सुन्दर सत्य हो ।
(ऋषि बराल, पोखरा)
महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका बेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । वैज्ञानिक रूपमा फाइदा गर्छ भन्ने जानकारी नभए पनि उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।
क्वाँटी कसरी फाइदाजनक ?
टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।
क्वाँटी जीवन्त खाना हो, जुन पचाउन पनि निकै सजिलो हुन्छ । यत्तिकै खाँदाभन्दा टुसा उमारेर खाँदा पचाउन आधा सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाँटी बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।
यस्ता व्यक्तिलाई क्वाँटीको विशेष आवश्यकता
बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन । गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ । क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।
कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा-मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ । क्वाँटीले सेवनकर्तालाई मासुबराबर नै प्रोटिन तथा अन्य पोषकतत्त्व प्रदान गर्छ । क्वाँटी प्रत्येक साताको दुई-तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।
यसरी खाँदा थप लाभ
क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।
अन्य फाइदा
क्वाँटी शक्तिवर्धक एवं पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले –
-तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
-मांसपेशीको मर्मत-सम्भारमा सहयोग पुग्छ ।
-रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
-रक्तसञ्चार र स्नायुप्रणालीमा फाइदा पुग्छ ।
-क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
-मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ
प्रतिक्रिया