नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि संचालन गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रैमहिना पर्यटकीय गतिविधि संचालन गरिनुपर्ने बताएका हुन् । ‘नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि संचालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छ’, उनले भने ।
मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे । पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले पर्यटन क्षेत्रले लिएको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय गरी पर्यटन पुनरुत्थानको कार्यलाई अगाडि बढाउनुपर्ने बताए । ‘पर्यटन देश विकासको महत्वपूर्ण आधार क्षेत्र हो, अर्थतन्त्र र रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गर्ने यो क्षेत्रलाई प्राथमिकता दिनसके देश समृद्धिको यात्रामा अगाडि बढ्छ’, उनले भने ।
उनले मन्त्रालयको आयोजना भएको यस्तो बैठकले संविधानको भावनाअनुरुप सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने बताए । देशको पर्यटन क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर जानुपर्ने उनको भनाइ थियो । – रासस
प्रतिक्रिया