शनिबार, असार ७, २०८२

‘नेपालमा आइसक्यौं, किन फेरि भारत जाने’

नेपालखोज २०७६ चैत २१ गते ७:४५

नेपालगन्ज । नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो।

‘धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो। नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले भनिन्, ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’

नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीछेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अलपत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया