बिहीबार, वैशाख २०, २०८१

जनताले नदेखेको गठबन्धन कांग्रेसले कसरी देख्यो ?

ओम आचार्य २०७९ भदौ २४ गते १२:५७

गठबन्धनको अभ्यास सामान्यत: कुनै पनि राजनीतिक दलले संसदमा बहुमत ल्याउन नसकेपछि सरकार निर्माणका लागि एक वा दुई दल मिलेर सरकार बनाउने प्रक्रिया वा विधिलाई नै मान्छौं । यो अभ्यास छिमेकी राष्ट्र भारत र अन्य लोकतान्त्रिक राष्ट्रहरूमा प्रचलनमा आएको देखिन्छ । यस्तो गठवन्धनको अभ्यास आवश्यकता र बाध्यता पनि हो । संसद्‌को पाँच वर्ष समयावधि रहेको हुँदा पटक-पटक निर्वाचनमा जानु मुलुककै लागि आर्थिक रूपले पनि अनुचित हो यही बाध्यताले गर्दा गठबन्धनको सरकार बन्ने योग हुन्छ।

गठबन्धन सरकारको केही राम्रा पक्षहरू पनि छन् जस्तो स्थिर सरकारको परिकल्पना, सुशासन, विकास र पुन: निर्वाचनमा जानुबाट रोक्नु । गठबन्धन सरकारमा साझा दायित्व हुन्छ र कुनै पनि निर्णय गर्नुभन्दा पहिले राजनीतिक दलबीच विचार-विमर्श गरेर निर्णय लिन्छन् र त्यो निर्णयको सामूहिक उत्तरदायित्व हुन्छ । त्यस्तो निर्णयलाई गठबन्धन सम्मिलित घटकहरुले समेत आफ्नो निर्णय मान्छन् ।

नेकपा एमाले एकीकरण हुनुभन्दा पूर्वका सरकार बन्दै भंग हुदै स्थिर सरकार हुन नसके अवस्थामा माओवादी र एमालेको एकीकरणपछि निर्मित नेकपा एमालेले स्थिर सरकार, सुशासन, विकास र समृद्धिको नारा दिएर चुनावमा सहभागिता जनाए । यहाँ नेपाली जनता देशमा अस्थिर सरकारका कारणबाट वाक्क-दिक्क भइसकेका राजनीतिक अस्थिरतताका कारण दिशाहीन सरकारबाट निराश भएका जनताले मुलुकमा सुशासन र विकास एवं समृद्धिकै लागि पनि नेकपा एमालेको गठबन्धनलाई निर्वाचनमा स्विकारे। नेकपा एमालेको गठबन्धन जनभावनाअनुरूप नै थियो जुन इच्छा नै थियो र त्यतिबेलाको जनआधार पनि स्थिर सरकार सुशासनकै पक्षमा थियो । जनता चाहन्थे स्थिर बहुमतको सरकारका लागि बरु गठबन्धन गरेर आऊन् । त्यही जनभावना बुझेर नेकपा एमाले बहुमतको सरकार बनाउन सफल भयो ।

तर यो नेकपा भनिए पनि यो गठबन्धनकै सरकार थियो । यो सरकारले गठबन्धन सरकारको राम्रो गुण र धर्म बोक्न सकेन यसले गठबन्धनको दोष र अवगुण मात्रै बोक्यो । गठबन्धनको सरकारले दिशाहीन र मूल्यहीनतालाई प्रश्रय दियो । सामूहिक निर्णयमा जान सकेन । सामूहिक उत्तरदायित्वको भाव बोक्न सकेन र लोककल्याणकारी निर्णय लिन सकेन मन्त्री बन्ने हान-थाप र पालोपालो सरकार प्रमुख हुने समझदारीसम्म पनि अवलम्बन नगरेर गठबन्धनभित्रै तनाव र विवाद सिर्जना भयो अन्तत: सरकार भंग हुन पुग्यो ।

निर्वाचन प्रयोजनका लागि गरिने गठबन्धन राजनीतिक दलको आवश्यकता र बाध्यताभन्दा पनि जनइच्छा, जनभावनाअनुरूप हुने हो यो कुरा नेकपा एमालेको गठबन्धनलाई जनादेशबाट अनुमोदन भएकोले पुष्टि गर्छ ।

निर्वाचनअघि गठबन्धन गर्नु भनेको देशमा अस्थिर राजनीति अस्थिर सरकार कसैको पनि बहुमतको सरकार निर्माण हुन नसक्दा गरिने परिकल्पना हो र यस्तो प्रकारको गठबन्धनमा जनताको पूर्ण सहमति र अनुमोदन हुन्छ । यस्तो अभ्यास एकपटक नेकपा एमालेबाट प्रयोग भइसकेको छ ।

एकपटक नेकपा एमालेको निर्वाचनमा गरिएको गठबन्धन हेरिसके र बहुमतको सरकार पनि आफ्नै असक्षमता र सत्ता लिप्सा र स्वार्थका कारण पूरा समयावधि सरकार सञ्चालन गर्न सकेनन् । गठबन्धन सरकारको एउटा नराम्रो पक्ष यही हो स्वार्थ र सत्ता लिप्सा, राजनीतिक विचारधारा एवं भ्रष्टाचारले गर्दा गठबन्धन लामो समयसम्म पूर्णकाल चल्न सक्दैन त्यो कुरा नेकपाबाट जगजाहेर भइसकेको छ ।

अहिले गठबन्धनकै सरकार छ । यस गठबन्धन भित्र विविध विचार, उद्देश्य बोकेका राजनीतिक दलको गठबन्धन छ । सरकार सञ्चालनसम्मको गठबन्धन त विधि र प्रक्रियाभित्रै पर्ने राजनीतिक विषय हुन् । तर निर्वाचनमा समेत गठबन्धन गरेर नै अगाडि बढ्ने कुरा युक्तिसंगत देखिँदैन ।

पाँचदलीय गठबन्धनको उद्देश्य के हो ? जनतामा जाँदा के भनेर जाने ? अहिलेको यो गठबन्धनसँग उचित जवाफ छैन ।

माधव नेपालले भनिसके ‘कत्रो जोखिम मोलेर पार्टी फुटाएर आएँ अहिले भागबन्डामा उब्रेको दिने । प्रचण्डको पनि त्यही अवस्था छ । भनेजस्तो सिट बाँडफाड भएन भने यो गठबन्धन भंग गर्दै अर्को गठबन्धन गर्छौं ।’

नेपाली कांग्रेस भन्छ- केपी ओलीको सर्वसत्तावाद अधिनायकवाद र संविधान र गणतन्त्रमा प्रतिगमन देखिएको हुँदा रक्षाका लागि गठबन्धन गर्नुपरेको । केपी ओलीको गठबन्धनमा रहेका माधव नेपाल र प्रचण्डजस्ता सहयात्रीलाई मिलाएर गरिएको यो गठबन्धनको जग नै कमजोर छ भन्नुपर्छ । केपी ओलीको तत्कालीन सरकारमा हौसला दिने यी दुईको सहमतिलाई अहिले कांग्रेसले भनेजस्तै प्रतिगमनको दोष किन नलगाउने ? अर्को कुरा जब नेकपा एमालेबाट माधव नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाए भने प्रचण्ड नेकपाबाट अलग भएर माओवादीमै फर्किए त्यतिखेर नै निर्वाचनमा गठबन्धन गरेर जाने नेपाली कांग्रेसमा सहमति भएको हुनुपर्छ ।

तत्कालीन अवस्थामा त्यसरी अलग भएका यी दुई दललाई अबको निर्वाचनमा नेपाली कांग्रेसले चुनावी गठबन्धन गरेर राम्रो हैसियतमा प्रस्तुत गर्नु पनि कांग्रेसमा बाध्यता छ र त्यो बाध्यता भनेको यी दुई दलको सहयोगबाट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाको एक्लो बाध्यता । तर के अबको निर्वाचनमा यो पाँचदलीय गठबन्धनमा जनमत हुन्छ ? जनताले के भनेर यो गठबन्धनमा विश्वास गर्ने । योभन्दा अगाडिको गठबन्धनलाई विश्वास गरेर पाँच वर्षका लागि जनादेश दिएकै हुन् अब फेरि त्यो पुनरावृत्ति हुन्छ ?

मुलुकमा निर्वाचनमा जनताको कुनै एक दलमा विश्वास नहुँदा गठबन्धनको खोजी गर्छन् त्यो परिस्थिति मंसिर ४ को निर्वाचनमा देखिँदैन जनताको मतलाई सर्वोपरि ठान्ने, जनता सार्वभौम हुन् भन्ने नेपाली कांग्रेसले जनताले नदेखेको जनताले नरुचाएको गठबन्धन कसरी देख्यो त्यो आश्चर्य र उदेक लाग्दो छ ।

प्रतिक्रिया