सोमबार, असार २३, २०८२

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

नेपालखोज २०७९ मंसिर ७ गते ६:३९

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले आठ र नेकपा (एमाले)ले तीन स्थानमा विजय हासिल गरेका छन् । बुधबार बिहानसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ, मनाङ, काठमाडौँ क्षेत्र नं १, ३, ४, ५, रसुवा र ललितपुर क्षेत्र नं १ मा विजय हासिल गरेको छ ।

कांग्रेसका उम्मेदवार मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं १ मा प्रकाशमान सिंह, क्षेत्र नं ३ मा सन्तोष चालिसे, क्षेत्र नं ४ मा गगनकुमार थापा, क्षेत्र नं ५ मा प्रदीप पौडेल, रसुवामा मोहन आचार्य र ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर जबरा विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं २ प्रेमबहादुर महर्जन, काठमाडौँ क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ र उदयपुर क्षेत्र नं २ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीले पनि जितको खाता खोलेको छ । सो पार्टीका गङ्गाराम चौधरी कैलाली क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया